९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न



लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ।

लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिको क्षेत्रमा सहयोग अभिवृद्धि र सहकार्य गर्ने सहमति भएको छ।

बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियो। दुवै पक्षले जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार–विमर्श गरेका थिए। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गरेका थिए।

पोर्चुगलका तर्फबाट पोर्चुगलका परराष्ट्र तथा सहकार्य मामिला सचिव डा आना इसाबेल जेभियरले नेतृत्व गरेका थिए।

नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवं युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरेसहित दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

बैठकमा नेपाल–पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासो, आपसी हित, थप सहकार्य र सहयोग अभिवृद्धिबारे गहन विमर्श र छलफल भएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए।

पोर्चुगलवासी नेपालीले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्याको समाधानका लागि सहजीकरण गरिदिन पोर्चुगिज पक्षसँग विशेष आग्रह गरिएको उनले बताए।

“नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि समेत आग्रह गरिएको छ। बैठकले दुई देशबीच नयाँ सम्भावनाको ढोका खुलेको छ”, राजदूत पौडेलले भने।

त्यस अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायप्रतिको सद्‌भावका लागि पोर्चुगल सरकारलाई धन्यवाद व्यक्त गरे।

परराष्ट्र मामिला सचिव डा जेभियरले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरे।

बैठकपश्चात् डा जेभियरले पोर्चुगल भ्रमणमा रहेका नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए।

यस्तै परराष्ट्र सचिव राईले पोर्चुगिज व्यापार तथा लगानी एजेन्सीमा नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित अधिकारीसँग अन्तरक्रिया गरेका थिए।

उनले जलविद्युत् उत्पादन, प्रसारण र वितरणलगायत ऊर्जा क्षेत्रमा पोर्चुगिज लगानीकर्ताहरूसँग नेपालमा लगानीका लागि नेपालको लगानी बोर्डसँग छलफल गर्न सुझावसमेत दिए।

यसअघि परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डि सौसा रिबेरो टेलेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।

भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ११ : २८ बजे

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

सप्तरीमा एमालेको झण्डा जलाउने एक निर्वाचन प्रहरी पक्राउ

सप्तरी । सप्तरीमा एक जना निर्वाचन प्रहरीले नै एमालेको चुनाव

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको