बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आफना मतदातालाई कार्यकर्तामार्फत पत्र पठाउँदै यस क्षेत्रको माटोको ऋण तिर्न आफू आएको बताएका छन ।
आफू यहींको माटोको धुलोमा खेलेर हुर्किएको, यहींको सुख दुख भोगेको एउटा छोरो भएको भन्दै उनले पाहुँना उम्मेदवार जस्तो कतै भागेर नजाने स्पष्ट पारेका छन ।
मतदाताका नाममा भावनात्मक पत्र लेख्दै उम्मेदवार पाण्डेले भनेका छन – ‘म यहींको सुख दुःख भोगेको तपाईंकै घरको एउटा छोरो हुँ । मलाई विपक्षी साथीहरुले सोध्नुहुन्छ – ‘हिजो बावुराम भट्टराई र भक्ति पाण्डेले हारेको ठाँउमा किन आयौं ?’ म उहाँहरुलाई भन्न चाहन्छु – ‘हार र जीत त एउटा पाटो हो, तर यो मेरो जन्मभूमि हो, मेरो कर्म भूमि हो ।’
उनले आफ्ना बुवा स्व. भक्ति पाण्डेले यस क्षेत्रको विकासका लागि देखेको सपना पुरा गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन । ‘ती सपनाहरु आज पनि यहीं माटोमा जीवित छन । ती अधुरा सपनाहरु पुरा गर्ने जिम्मेवारी मेरो काँधमा छ । म यहाँ चुनाव जित्न मात्र होईन, यो माटोको ऋण तिर्न आएको हुँ ।’ उनले भनेका छन ।
तारा चुनाव चिन्ह लिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका विश्वदीपले बुटवल धागो कारखाना जस्ता उद्योग बन्द हुनु र दाजुभाईहरु दैनिक खाडी मूलुकमा पसिना बगाउन जानु पर्ने बाध्यता नेताहरुले नै सिर्जना गरेको उनले मतदातालाई पठाएको पत्रमा उल्लेख छ ।
उनले भनेका छन – ‘नेताहरुले कुर्सी त पाए, तर यो माटोको माया पाएनन् । म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु – म यहींको छोरो हुँ । म कतै भागेर जाने छैन । बुटवलको विकास,उद्योगको पुनरुत्थान,र युवाहरुलाई रोजगारी मेरो पहिलो र अन्तिम संकल्प हो ।’ उनले यस क्षेत्रलाई विकासको नमुना बनाउन सबैको साथ सहयोग जरुरी रहेको पनि मतदाताको नाममा लेखिएको पत्रमा उल्लेख गरेका छन ।


















प्रतिक्रिया