गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोकर्ण विष्टले पार्टीका नेता तथा कार्यकर्तालाई संयमता अपनाउन निर्देशन दिएका छन् । घरदैलो अभियानका क्रममा उनले मतदाताको विचारको सम्मान गर्दै शिष्ट र प्रभावकारी ढंगले आफ्ना कुरा राख्न आग्रह गरे ।
लोकतन्त्रमा आफ्ना विचार सभ्य र मर्यादित ढंगले प्रस्तुत गर्दै जनताको मत जित्नु नै सुन्दर पक्ष भएको उल्लेख गर्दै उनले भावना र उत्तेजनामा नआई सूर्य चिन्हको पक्षमा मत माग्न नेता-कार्यकर्तालाई निर्देशन दिए ।
उनले अराजक गतिविधिले कसैलाई पनि लक्ष्यमा पुर्याउन नसक्ने उल्लेख गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा नै लोकतान्त्रिक अभ्यासको उत्तम विकल्प भएको बताए । साथै उनले विगतमा पटक-पटक संसद् र सरकारमा पुग्न आम मतदाता तथा पार्टी कार्यकर्ताको माया र विश्वासले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।
विष्टले आफूले पाएको जिम्मेवारीलाई सदैव मतदाताको हितमा प्रयोग गरेको दाबी गर्दै आगामी दिनमा आफ्नो भूमिका अझ विस्तार भए पनि त्यसले निर्वाचन क्षेत्रका नागरिकलाई थप फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
‘म अहिले जुन स्थानमा पुगेको छु, त्यो आम नेता-कार्यकर्ताको माया, विश्वास र सद्भावकै कारण सम्भव भएको हो,’ उनले भने, ‘आगामी दिनमा मेरो भूमिका अझ सशक्त बन्दै जाँदा निर्वाचन क्षेत्रका नागरिकलाई थप लाभ पुग्नेछ ।’


















प्रतिक्रिया