काठमाडौं । काठमाडौं-५ यतिबेला केवल चुनावी प्रतिस्पर्धाको मैदान मात्र होइन, राजनीतिक विश्वसनीयताको परीक्षणस्थल बनेको छ। प्रतिनिधिसभाका पूर्वउम्मेदवार प्रणय राणाको राजीनामापछि देखिएको तरंग, त्यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक बहिर्गमन – यी घटनाले यहाँको समीकरणलाई एकाएक हल्लाइदिएको छ।
उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितताको आरोप र आन्तरिक लोकतन्त्रप्रतिको असन्तुष्टि सार्वजनिक भएसँगै चुनावी बहसको केन्द्र मुद्दाबाट सरेर विश्वसनीयतामा आइपुगेको छ। वैकल्पिक राजनीतिको नारासहित उदाएका दलहरूका लागि आन्तरिक पारदर्शिता केवल संगठनात्मक विषय हुँदैन- त्यही नै उनीहरूको नैतिक पूँजी हो। जब त्यही पूँजीमाथि प्रश्न उठ्छ, मतदाता स्वाभाविक रूपमा स्थिरता र स्पष्टता खोज्न थाल्छन्।

आवेगभन्दा विवेकको मोड
काठमाडौं-५ ले विगतमा धेरै प्रयोग देखेको छ- नयाँ अनुहार, नयाँ नारा, नयाँ गठबन्धन। तर परिणाम सधैं अपेक्षाअनुसार आएनन्। निर्वाचनको मुखैमा देखिएको असन्तुष्टिले मतदातालाई फेरि एकपटक सोच्न बाध्य बनाएको छ- के नेतृत्व केवल परिवर्तनको भाषणमा सीमित छ, वा व्यवहारमा पनि त्यही प्रतिबद्धता देखिन्छ ?
शहरले भोगिरहेका चुनौती- अव्यवस्थित सहरीकरण, सेवाप्रवाहको ढिलासुस्ती, युवाको रोजगारी संकट, पारदर्शितामाथिको प्रश्न – यी कुनै एक दलका मात्र मुद्दा होइनन् – यी साझा चुनौती हुन्। समाधानका लागि चाहिन्छ स्थिर नेतृत्व, कानुनी स्पष्टता र प्रशासनिक दक्षता। यही मोडमा मतदाता आवेगभन्दा विवेकतर्फ झुकेको संकेत देखिन्छ।

फरक ढंगले उभिएको उम्मेदवारी
यस पृष्ठभूमिमा अधिवक्ता कल्पना शर्माको उम्मेदवारी फरक ढंगले उभिएको देखिन्छ। लामो समयदेखि सामाजिक न्याय, महिला सशक्तिकरण र कानुनी सहायताका अभियानमा सक्रिय उनको सार्वजनिक छवि विवादरहित र मुद्दामुखी छ। उनले राजनीति सत्ता प्राप्तिको साधन होइन, विधि–सम्मत शासन र उत्तरदायित्वको अभ्यास हुनुपर्छ भन्ने अडान दोहोर्याउँदै आएकी छन्।
शर्माको दाबी छ-लोकतन्त्रमा मत केवल समर्थनको संकेत होइन, पाँच वर्षका लागि जिम्मेवारी सुम्पिने अधिकारपत्र हो। त्यसैले निर्णय पनि दीर्घकालीन स्थिरता र विश्वसनीयतालाई केन्द्रमा राखेर हुनुपर्छ।

घरदैलोको निरन्तरता
चुनावी मौसम सुरु भएसँगै धेरै उम्मेदवारहरू घरदैलोमा देखिन्छन्। तर शर्माको सक्रियता चुनावअघि र चुनावबीचको सीमारेखाले बाँधिएको देखिँदैन। उनी कहिले डाँडागाउँ, कहिले हाँडिगाउँ; कहिले टोखाका बस्ती, कहिले बुढानिलकण्ठ, धापासी, महाराजगन्ज, धुम्बाराही, लाजिम्पाट, रानीबारी पुगिरहेकी हुन्छिन्।
जहाँ पुग्छिन्, त्यहाँ राजनीतिक भाषणभन्दा बढी दुःख-सुखको संवाद सुनिन्छ। गारो-सारो पर्दा साथ दिएको, मर्दा-पर्दा जनताको घरमै पुगेको प्रसंग स्थानीयहरू सुनाउँछन्। चुनावपछि पनि जनतासँगै रहने वाचा उनले दोहोर्याएकी छन् । वाचा केवल भाषणमा होइन, व्यवहारमा देखिएको निरन्तरताबाट पुष्ट हुने उनको दाबी छ।

शिक्षित मतदाता, सूक्ष्म अपेक्षा
काठमाडौं–५ को भौगोलिक र सामाजिक बनावट विशिष्ट छ। यहाँ शिक्षित, बौद्धिक र राजनीतिक रूपमा सचेत मतदाता छन्। उनीहरू नारा र आवेगमा छिटो बग्दैनन्; उनीहरू तथ्य, तर्क र चरित्र तौलन्छन्। यही मनोविज्ञान शर्माले मसक्कै बुझेकी देखिन्छन्।
उनको अभियानमा ठूलो रङ्गीन प्रदर्शनभन्दा पनि साना समूहमा संवाद, कानुनी र नीतिगत विषयमा स्पष्ट प्रस्तुति र महिला-युवा सहभागितालाई प्राथमिकता दिने अभ्यास देखिन्छ। उनको लोभलाग्दो सक्रियता र संयमित प्रस्तुति देखेर अचम्मित भएको प्रतिक्रिया मतदाताहरूले बताउँछन्।

‘पहिरो’पछि स्थिर जमिनको खोजी
राजनीतिमा कहिलेकाहीँ देखिने ‘पहिरो’ले केवल व्यक्तिलाई होइन, विश्वासलाई पनि बगाउँछ। काठमाडौं- ५ मा देखिएको पछिल्लो तरंगले यही प्रश्न उठाएको छ – अब कसलाई जिम्मेवारी सुम्पिने ? अस्थिरता र आन्तरिक विवादको छायाँमा उभिएको नेतृत्व रोज्ने कि संयमित, स्पष्ट र नीतिमुखी विकल्पतर्फ अघि बढ्ने ? यही प्रश्नको उत्तर खोज्ने क्रममा धेरै मतदाता स्थिर जमिन खोजिरहेका छन्।
कल्पना शर्माले आफूलाई त्यही स्थिर जमिनका रूपमा प्रस्तुत गरिरहेकी छन् – पुस्तान्तरणको बहसलाई टकराव होइन, समन्वयको अवसरका रूपमा व्याख्या गर्दैस सुशासनलाई नारा होइन, कानुनी संरचनाबाट कार्यान्वयन गर्ने अठोटसहित।

अन्तिम शक्ति जनतामा
लोकतन्त्रमा अन्तिम शक्ति जनतासँगै रहन्छ। परिणाम जे भए पनि, यसपटकको प्रतिस्पर्धाले एउटा पाठ भने दिएको छ-राजनीतिमा नारा होइन, चरित्र टिकाउ हुन्छ।
काठमाडौं-५ का मतदाताले अब भावनात्मक लहर होइन, दीर्घकालीन स्थिरता र विश्वसनीयतालाई प्राथमिकता दिने संकेत देखाइरहेका छन्। यही संकेतलाई समेटेर अगाडि बढिरहेकी छन् – अधिवक्ता, अभियन्ता र उम्मेदवार कल्पना शर्मा।
चुनावी निर्णय मतदाताको हातमा छ। तर बहसको केन्द्र स्पष्ट छ – परिवर्तन मात्र होइन, टिकाउ र विश्वसनीय परिवर्तन।





















प्रतिक्रिया