बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ ।
सो पार्टीले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ । रुपन्देही जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्माचनमा कूल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए । जसअन्तर्गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ६५।४२ प्रतिशत अर्थात् चार लाख ३९ हजार ९७६ मत खसेको थियो ।
समानुपातिकतर्फको मतगणनाअनुुसार रास्वपाले प्रत्यक्षभन्दा पाँच हजार ३२१ मत बढी हो । यो गणना भएको कूल मतको ५५ प्रतिशत हो । प्रत्यक्षतर्फ रास्वपाले पाँच वटै क्षेत्रबाट दुई लाख ३७ हजार ८१ मत पाएको छ ।
यस्तै विसं २०७९ मा समानुपातिकमा पहिलो दल बनेको नेकपा (एमाले) भने अहिलेको निर्वाचनमा तेस्रो स्थानमा पुगेको छ । एमालेले सम्पन्न निर्वाचनमा ५१ हजार ९४९ मत अर्थात् ११.७ प्रतिशत मतसहित तेस्रो स्थानमा पुगेको निर्वाचन आयोगको तथ्याङ्कमा देखिएको छ ।
यस्तै अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने ५१ हजार ९४९ मत अर्थात् ११.८ प्रतिशत मत गरी यस पटक पनि दोस्रो स्थान कायम गरेको छ । यस पटक चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २८ हजार ३१२ मत अर्थात् ६.४ प्रतिशत मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले ११ हजार ३४८ मत अर्थात् २.५ प्रतिशत मत पाएको छ ।
यस्तै रुपन्देहीबाट श्रम संस्कृति पार्टीले आठ हजार ३५६ मत, जनमत पार्टीले सात हजार २६३ मत, जसपा नेपालले छ हजार २६३ मत तथा नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५५ मत ल्याएको छ ।
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ ।
प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ ।
यसैगरी नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक लाख सात हजार १०१ मत ल्याएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ । कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको छ ।
कर्णालीभर ९० उम्मेदवारको जमानत जफत
प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ । प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए ।
जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ । छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन् । कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।


















प्रतिक्रिया