काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ ।
प्रहरी वृत्त गौशाला, काठमाडौँद्वारा आज आयोजना गरिएको एक कार्यक्रमबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरुको बिदाइ गरेका हुन् ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाले निर्वाचन अवधिभरि निर्वाचन प्रहरीले गरेका काम सम्झन योग्य रहेका बताए । उनले भने, “निर्वाचन प्रहरीले निर्वाचन अवधिभरि गरेका काम सम्झन योग्य छन् । भविष्यमा तपाईहरुबाट यस्तै सहयोगको अपेक्षा गर्दछु ।”
निर्वाचन अवधिभर निर्वाचन प्रहरीहरूले देखाएको अनुशासन, इमान्दारिता र समर्पण सराहनीय रहेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए । उनले निर्वाचन जस्तो संवेदनशील र महत्वपूर्ण प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।
प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरी कर्मचारीले अत्यन्त जिम्मेवार ढङ्गले आफ्नो कर्तव्य निर्वाह गरेको बताए । उनले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सबैले सक्रियता र सजगता अपनाएको उल्लेख गरे ।
नायब उपरीक्षक सिरमलले निर्वाचन प्रहरीले भविष्यमा पनि समाज र राष्ट्रका लागि सकारात्मक काम गर्दै जाने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचन सुरक्षामा तपाईहरूले देखाएको सक्रियता र जिम्मेवारी सराहनीय छ । आगामी दिनमा अनुशासन र प्रतिबद्धताका साथ काम गर्दै प्रहरी सङ्गठनलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
निर्वाचनको समयमा मतदान केन्द्रको सुरक्षा, मतदाता व्यवस्थापन, भीड नियन्त्रण, तथा सम्भावित विवाद समाधान जस्ता कार्यमा निर्वाचन प्रहरीले सक्रिय भूमिका निर्वाह गरेका थिए । यही फागुन २१ गते सम्पन्न निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


















प्रतिक्रिया