११ चैत्र २०८२, बुधबार | March 25, 2026

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रुपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताइन् ।

“यसपटकको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ, यसबाट नेपालप्रतिको सम्मान बढेको छ, यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ, यसबाट लोकतन्त्रको संवद्र्धन पनि भएको छ”, प्रधानमन्त्री कार्कीले भनिन् ।

गत भदौ अन्तिम साता आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा कानुनी र राजनीतिक शून्यता, सुरक्षा संवेदशीलता भएको स्मरण गगर्दै उनले त्यो अवस्थाबाट निर्वाचन सम्पन्न गराई लोकतान्त्रिक मूल्य मान्यतालाई लिकमा अघि बढाइएको बताइन् । सुरुका दिनमा निर्वाचन चुनौतीपूर्ण रहे पनि आयोगको अठोट र सरकारको सहयोगले सम्भव भएको कार्यक्रममा प्रधानमन्त्री कार्कीले जानकारी गराइन् ।

निर्वाचन घोषणा भएपछि जारी गरिएको अध्यादेशअनुसार करिब १० लाख युवा मतदाताले उत्साहपूर्ण रुपमा मतदाता नामावलीमा नाम लेखाइ निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि चुनेको प्रधानमन्त्री कार्कीले बताइन् । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरेकामा उनले आयोगलाई धन्यवाद दिइन् ।

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन् ।

उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताए ।

“निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा हार्दिक आह्वान पनि गरे ।

राष्ट्रपति पौडेलले भने “लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ, मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ ।”

आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनले बताए । राष्ट्रपति पौडेलले भने “यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको छ, निर्वाचनले अन्तरराष्ट्रिय समूहबाट समेत प्रशंसा बटुल्न सफल भएको मैले महसुस गरेको छु ।”

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भई शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुभएकोमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद पनि व्यक्त गरे ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ३ : १९ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग