१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

अभिधम्म पिटकको सान्दर्भिकता



काठमाडौँ । नेपालको वर्तमान लुम्बिनी उद्यानमा ई.पू. ६२३ मा जन्मनुभएका राजकुमार सिद्धार्थले ३५ वर्षको उमेरमा बोधिज्ञान लाभ गरी बुद्ध बन्नुभयो । बुद्धत्व प्राप्तिपछिको चौथो हप्तामा सात दिन सात रात रत्नाघर चैत्यमा अभिधर्मको चिन्तन, मनन र परामर्शन गर्नुभएको कुरा पालि साहित्यमा उल्लेख छ । तर अभिधर्मको देशना–सातौं वर्षावास दौरान त्रायस्त्रिंश देवभूवनमा लगातार तीन महिनासम्म गरिएको थियो । उक्त देशनाको संक्षिप्त देशना–धर्म सेनापति सारिपुत्र महास्थविरलाई दिनुभयो । उहाँबाट आफ्ना ५०० शिष्यलाई न त संक्षिप्त न त विस्तृतमा देशना गर्नुभयो र सोही देशनाको अहिलेसम्म निरन्तरता पाइन्छ ।

मदनरत्न मानन्धर

अभिधम्मभित्र सातवटा प्रकरण (सत्तप्पकरण) छन् । जसमा पकरण = प्रकरण = प्रकार प्रकारले बताइएको भन्ने अर्थ लाग्दछ । यसमा धम्मसङ्गणीप्पकरण (धर्मको विषयवस्तु सङ्ग्रह), विभङ्गप्पकरण(धर्मलाई विभाजन गरी बताइएको), धातुकथाप्पकरण (धर्म र धातुको सम्बन्ध), पुग्गलपञ्ञत्तिप्पकरण(मानिसहरूको प्रकार), कथावत्थुप्पकरण (२१९ वटा गलत धारणालाई सुधार गरिएको), यमकप्पकरण (जोडा मिलेका धर्महरूको व्याख्या) र पट्ठान महाप्पकरण (२४ वटा प्रत्ययधर्म एकआपसमा आधारित रहेको व्याख्या) पर्दछन् । यी ग्रन्थहरूका बारेमा संक्षेपमा तल चर्चा गरिएको छ ।

धम्मसङ्गणी दुई शब्द मिलेको छ । धम्म र सङ्गणी, जसमा धम्मको अर्थ स्वभाव र सङ्गणीको अर्थ सङ्ग्रह गरी पूर्ण रूपमा गणना गरी देखाइएको भन्ने लाग्दछ । यो ग्रन्थमा अभिधर्म देशनाको मूल उपदेश सङ्ग्रहित भएकाले यसलाई मूल आधार मानिन्छ किनकि अन्य ग्रन्थ बुझ्नका लागि महत्वपूर्ण ग्रन्थ हुन् । यसमा परमार्थ सत्यलाई विभिन्न खण्डमा विभाजन गरिएको पाइन्छ । जस्तो कि चित्तलाई संश्लेषण विश्लेषण गरिएको छ (चित्त संक्षिप्तमा ८९ वटा र विस्तृतमा १२१ वटा देखाइएको) । रूप भौतिक तत्वलाई स्कन्ध (समूह), धातु (महाभूत), आयतन (क्षेत्र), इन्द्रिय (शक्ति) को रूपमा संश्लेषण विश्लेषण गरिएको र २८ प्रकारका रूप बताइएको छ । कामावचर (कामलोकमा पाइने), रूपावचर (रूप ब्रह्मलोकमा पाइने), अरूपावचर (अरूप ब्रह्मलोकमा पाइने) चित्तअनुसार ३१ वटा लोकको वर्णन पाइन्छ ।

सङ्ग्रह गरी देखाइएको भन्नाले कुशल अकुशल आदि सबै स्वभाव धर्महरूलाई सङ्ग्रह गरी देखाइएको भन्ने बुझिन्छ । पूर्ण रूपमा गणना गरी देखाइएको भन्नाले कुशल अकुशल आदि धर्महरूको स्वरूपलाई पूर्ण रूपमा गणना गरी देखाइएको भन्ने बुझिन्छ । यस धम्मसङ्गणी ग्रन्थलाई दुई भागमा विभाजन गरी देखाइएको छ, ती हुन्–तिक मातिका र दुक मातिका । मातिका अर्थात् तालिका । तिक मातिकामा २२ वटा मातिका छन्–कुसल तिक, वेदना तिक, विपाक तिक आदि । दुक मातिकामा १४२ वटा मातिकाहरू छन्–हेतु दुक आदि १०० वटा र विज्जाभागी दुक आदि ४२ वटा ।

तिक मातिकामा कुशल त्रिकभित्र कुसला धम्मा, अकुसला धम्मा, अव्याकता धम्मा पर्दछन् । कुसला धम्मा = (कुशल धर्महरू) दोषरहित राम्रो फल दिने लक्षण भएका कुशल धर्महरू पर्दछन् । घृणा गर्न योग्य पाप अकुशलधर्महरूलाई कम्पन गर्नसक्ने, नाश गर्नसक्ने कारणले कुशल भनिएको हो । अर्को, सत्वप्राणीहरूको सन्ततिमा घृणा गर्न योग्य हुने गरी विद्यमान भइरहेको कुस (अकुशल) लाई प्रहाण गर्न सक्ने भएको हुनाले पनि कुशल भनिएको हो । कुस भन्ने ज्ञानले ग्रहण गर्न योग्य भएको हुनाले पनि कुशल भनिएको हो ।

त्यस्तै अकुसला धम्मामा मित्रको विपरीत (उल्टो) अमित्र हुने झैं कुशल नभएको, कुशलको विपरीत भइरहेको धर्मलाई अकुशल भनिएको हो । यसमा दोषसहितको नराम्रो फल दिने लक्षण भएको अकुशल धर्महरू पर्दछन् । अकुशल धर्ममा अकुशल चित्त १२ र चैतसिक २७ हुन्छन् । अकुशल चित्तभित्र लोभ चित्त आठ, द्वेष चित्त दुई र मोह चित्त दुई हुन्छन् । अकुशल चैतसिकभित्र सर्वचित्त साधारण सात, पकिण्णक छ र अकुशल १४ हुन्छन् । अव्याकता धम्मा अर्थात अव्याकृत धर्महरू अव्याकृत (कुशल अकुशलको रूपमा भन्न नमिल्ने, विपाक, क्रिया, रूप र निर्वाण ) धर्महरू पर्दछन् । कुशल अकुशल भनी नबताइएको हुनाले अव्याकृत भनिएको हो । अव्याकृत धर्ममा विपाक चित्त ३६ वटा वा ५२ वटा, क्रिया चित्त २० वटा, चैतसिक ३८, रूप २८ र निर्वाण पर्दछन् । दुक मातिकामा हेतु दुक आदि १०० वटा र विज्जाभागी दुक आदि ४२ वटा गरी १४२ वटा मातिका छन् । दुक भन्नाले द्विक (दुई समूह), मातिका अर्थात् मातृका (तालिका) पर्दछन् । पहिलो छ, हेतुगोच्छकं (हेतुगुच्छक) अर्थात् हेतु हेतु सबै एकै ठाउँ जम्मा गरिएको छ ।

धर्म (स्वभाव) लाई १८ वटा विषयवस्तुमा विभाजन, विश्लेषण गरी देखाइएको हुनाले यस ग्रन्थलाई विभङ्ग नामाकरण गरिएको पाइन्छ । यसमा खन्धविभङ्ग (पाँच स्कन्ध (रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान स्कन्ध), आयतनविभङ्ग (बाह्र वटा (आँखा र रूप, कान र शब्द, नाक र गन्ध, जिब्रो र रस, शरीर र स्पर्श, मन र मानसिक धर्म), धातुविभङ्ग (छ वटा (पथवी, आपो, तेजो, वायो, आकास र विञ्ञाण) र अठार वटा हुन्छन् । त्यस्तै सच्चविभङ्ग (चार सत्य), इन्द्रियविभङ्ग (बाइस वटा (आँखा, नाक, कान आदि), पच्चयाकारविभङ्ग (प्रतीत्य समुत्पाद, बाह्र वटा), सतिपट्ठानविभङ्ग (चार स्मृतिप्रस्थान), सम्मप्पधानविभङ्ग (चार उद्योग), इद्धिपादविभङ्ग (ऋद्धिपाद) (चार प्रबलता) र बोज्झङ्गविभङ्ग (सात बोधिअंग) रहेका छन् । यसैगरी धर्ममा मग्गविभङ्ग (आठ मार्ग), झानविभङ्ग ((रूप ध्यान र अरूप ध्यान दुई), अप्पमञ्ञाविभङ्गमा चार ब्रह्मविहार (मैत्री, करुणा, मुदिता र उपेक्षा), सिक्खापदविभङ्गमा पाँच (पञ्चशील), पटिसम्भिदाविभङ्गमा चार (राम्ररी जान्नुपर्ने), ञाणविभङ्गमा प्रज्ञा (लौकिक प्रज्ञा र लोकोत्तर प्रज्ञा) को बारे उल्लेख छ भने खुद्दकवत्थुविभङ्गमा अठार र बासट्ठि मिथ्यादृष्टि र धम्महदयविभङ्ग — एक । माथिका सत्र वटा विभंगलाई राम्ररी बुझ्यो भने मिथ्यादृष्टि हटी मन निर्मल हुँदै आउँछ, जसबाट निर्वाणसम्म पु¥याइदिन्छ ।

‘अत्तनो सभाव धारेती’ती धातुअर्थात् आफ्नो स्वभावलाई धारण गरीराख्ने भएकाले धातु भनियो । धातु (स्वभाव)को बारे बताइएको हुनाले यस ग्रन्थलाई धातुकथा भनिन्छ । अहिले धातुलाई तत्व वा खनिज धातु भन्ने अर्थ लाग्दछ, तर छब्बिस सय वर्षअघिको भाषामा स्वभावलाई धातु भनिन्थ्यो । ती पनि विभिन्न थरीका रहेका छन् ।

पथवी, आपो, तेजो, वायो, आकास र विञ्ञाण गरी छ वटा, चक्खुधातु (आँखा), सोतधातु (कान), घानधातु (नाक), जिव्हाधातु (जिब्रो), कायधातु (शरीर), मनोधातु (मन)– छ वटा, रूपधातु, सद्दधातु (शब्द), गन्धधातु, रसधातु, फोट्ठब्बधातु (स्पर्शव्य वस्तु), धम्मधातु (मनमा उत्पन्न हुने विचार आदि)–छ वटा छन् ।

चक्खुविञ्ञाणधातु (आँखाले देख्यो भनी जान्ने वा थाहा पाउने चित्त), सोतविञ्ञाणधातु (कानले सुन्यो भनी जान्ने चित्त), घानविञ्ञाणधातु (नाकले सुँघ्यो भनी जान्ने चित्त), जिव्हाविञ्ञाणधातु (जिब्रोले स्वाद पायो भनी जान्ने चित्त), कायविञ्ञाणधातु (शरीरले स्पर्श भयो भनी जान्ने चित्त), मनोविञ्ञाणधातु (मनले चिन्तन ग¥यो भनी जान्ने चित्त)–छ गरी १८ वटा । धम्मसङ्गणी र विभङ्गमा आएको कुरालाई प्रश्न उत्तरको शैलीमा प्रस्तुत गरिएको पाइन्छ । यसलाई विभंग ग्रन्थको सरलीकृत प्रस्तुति पनि भनिन्छ । यस ग्रन्थमा स्कन्ध, आयतन, सत्य, इन्द्रिय, प्रतीत्यसमुत्पाद, सतिपट्ठान, ऋद्धिपाद आदि बोधिपाक्षिक धर्महरू पनि समावेश भएको छ । कुन कुन स्कन्धमा कुन कुन धातु हुन्छ, कुन कुन हुँदैन ? भनी प्रश्न उत्तर गरी बताइएको छ ।

पुग्गलअर्थात् व्यक्ति वा सत्व, पञ्ञत्ति भन्नाले प्रज्ञप्ति, विचार, चिन्तन पर्दछन् । पुग्गल पञ्ञत्तिको विषय सूचीमा छ वटा पञ्ञत्तिहरु खन्धपञ्ञत्ति, आयतनपञ्ञत्ति, धातुपञ्ञत्ति, सच्चपञ्ञत्ति, इन्द्रियपञ्ञत्ति र पुग्गलपञ्ञत्ति देखाइएको छ । मानिसहरूको चरित्र, आनीबानी, मानसिक स्थिति, जीवन शैलीको हिसाबले जम्मा १४७ समूह र ३९० प्रकारका मानिसहरूको चरित्र चित्रण गरिएको छ । यसरी एकदेखि दश प्रकारका मानिसहरूको विवरण यस ग्रन्थमा पाइन्छन् । यहाँ उदाहरणका रूपमा तीन प्रकारका मानिसहरूलाई लिन सकिन्छ । एक–ढुङ्गामा कोरिएको धर्को समानका अर्थात बारम्बार रिसाउने, लामो रीस हुनेहरू ढुङ्गामा कोरिएको धर्को समानका, दुई–भुइँमा कोरिएको धर्को समानका अर्थात् बारम्बार रिसाउँछ तर लामो रीस नहुनेहरू भुइँमा कोरिएको धर्को समानका र तीन–पानीमा कोरिएको धर्को समानका अर्थात कोही कडा, कठोर, सुन्न मन नपराउने कुरा गर्ने हुन्छन् तर उसले ती सबै सान्दर्भिक र स्वीकार्य बनाउँछ, ती पानीमा कोरिएको धर्को समानका हुन् । अर्को उदाहरणका रूपमा हेर्ने हो भने मानिस चार प्रकारका हुन्छन् । अँध्यारोबाट अँध्यारोतर्फ जाने, अँध्यारोबाट उज्यालोतर्फ जाने, उज्यालोबाट अँध्यारोतर्फ जाने र उज्यालोबाट उज्यालोतर्फ जाने ।

कथा भन्नाले भन्नुपर्ने कुरा वा वादहरू, र वत्थु भन्नाले वस्तु, रहने उत्पन्न हुने ठाउँ । बुद्धधर्मसम्बन्धी उत्पन्न भएका र हुनसक्ने सबै प्रकारका तर्क वा विवादहरूलाई प्रमाणसहित विश्लेषण गरिराखेको ग्रन्थ । त्यतिबेलाका विपक्षी (सत्र वटा मत) हरूको गलत सिद्धान्तलाई खण्डन गर्न रचिएको । यसका रचनाकार भिक्षु मोग्गलिपुत्त तिस्स जो सम्राट अशोककालीन थिए । उनले ती खण्डन सबै बुद्धवचनमा आधारित भएर गरिएको थियो । तसर्थ तेस्रो संगायनामा त्रिपिटकअन्तर्गत राखिएको छ ।

संगायना गर्नुको कारण त्यतिबेला भिक्षुहरूलाई धेरै सुविधा दिइएको थियो । ती सुविधा उपभोग गर्न र ऐस आरामको जीवन जिउन जो पायो त्यो भिक्षु बनेका थिए, विनयअनुकूल भिक्षु बनेका थिएनन् । तसर्थ, भिक्षुसङ्घमा अनेक प्रकारका विकृतिहरू मौलाए । सही र शुद्ध भिक्षुहरूलाई जीउन धौधौ बनाइयो । यो कुरा थाहा पाएका सम्राट अशोकले भिक्षुसङ्घमा शुद्धीकरणको प्रयास गरे, जसको फलस्वरूप ६० हजार मिथ्यावादी भिक्षुहरू निकालिए ।

अभिधर्मअन्तर्गत चित्तकाण्डको विवरण अनुसार पृथकजन् मानिस वा कुनै पनि प्राणीको मृत्युपश्चात् उसको तत्काल पुनर्जन्म हुन्छ । किनकी मृत्युको क्षण उत्पन्न हुने च्युति चित्तले तुरुन्तै प्रतिसन्धि चित्त उत्पन्न भई आ–आफ्नो कर्म अनुसारको गतिमा उत्पन्न हुन्छन् । तसर्थ, अन्तराभवको कुनै गुन्जायस छैन भनी यस ग्रन्थले खण्डन गर्दछ । यसरी २१९ वटा विवादको खण्डन यस ग्रन्थमा पाइन्छ भने त्यसका लागि २२६ वटा कथा (व्याख्या) हरूको वर्णन गरिएको छ । सबै कुराहरू प्रश्न उत्तरको तरिकाले प्रस्तुत भएका छन् । यसमा धम्म गम्भीर, अत्थ गम्भीर, देसना गम्भीर र पटिवेध गम्भीर गरी चार प्रकारले गम्भीर धर्मले पूर्ण भएको पाइन्छ ।

यमक भन्नाले जोडा–जोडा मिलाइ बताइएको भन्ने अर्थ लाग्दछ । यसमा कुसल, अकुसल, अव्याकत आदि धर्महरूको सूक्ष्म प्रश्नहरूलाई सरल ढङ्गमा उत्तर दिई बुझाइएको छ । संसार सागरबाट उत्तीर्ण हुनलाई नभई नहुने विभिन्न समस्याहरूलाई प्रश्न उत्तरको माध्यमबाट समाधान गरी देखाइएको पाइन्छ । चित्त स्वभावले अत्यन्त निर्मल तर आगन्तुक आरम्मणले गर्दा रङ्गीवीरङ्गी गरिनेलाई राम्ररी स्पष्टसँग देखाइएको छ ।

बिना हेतु वा कारणले केही पनि हुँदैन, सम्बन्धित कारणले गरेर मात्र फल उत्पन्न हुन्छ भनि देखाइएको गम्भिर ग्रन्थ हो पट्ठान (सातौँ र अन्तिम ग्रन्थ) । बुद्धत्व प्राप्ति पश्चात चौथो सप्ताह रत्नाघर चैत्यमा सात दिन सात रातसम्म अभिधर्मको सातै वटा प्रकरणहरू प्रत्यवेक्षण गर्नुभयो र पट्ठानको प्रत्यवेक्षण पश्चात वहाँको शरीरबाट छ वर्ण रश्मी प्रकट भयो । हेतुपच्चयो, आरम्मणपच्चयो, अधिपतिपच्चयो आदि चौबीस पट्ठानको विस्तृत व्याख्या । हेतु प्रत्यय भनेको हेतुले हेतु सम्प्रयुक्त धर्महरूलाई र उक्त उत्पन्न रूपहरूलाई हेतु प्रत्ययले मद्दत गरिने हो । अलोभ, अदोस, अमोह गरी कुसल हेतु तीन प्रकारका हुन्छन् भने लोभ, दोस, मोह गरी अकुसल हेतु पनि तीन प्रकारकै हुन्छन् ।

नेपालमा अभिधर्म पिटकको अवस्था

नेपालमा अभिधर्म पिटकका थुप्रै अनुवाद भइसकेका ग्रन्थहरू छन् । त्यसमा धम्मसङ्गणी, धातुकथा, पुग्गलपञ्ञत्ति, यमक र पट्ठान (दुई भाषामा) छन् भने अब अनुवाद हुन बाँकी दुई विभङ्ग र पाँच कथावत्थु मात्र छन् । मूल अभिधर्मको अध्ययन अगाडि अभिधम्मत्थसंगह अध्ययन गरिने विश्वव्यापी चलन रहेको छ ।

अभिधम्म+अत्थ+संग हो = अभिधर्म+अर्थ+सङ्ग्रह (अभिधर्मार्थ सङ्ग्रह) भित्र नौ वटा कण्ड (काण्ड) छन् । चित्तकण्ड (८९ र १२१ चित्त विवरण), चेतसिक (चैतसिक) कण्ड (५२ चैतसिक विवरण), पकिण्णक (प्रकीर्णक) कण्ड (वेदना आदि सङ्ग्रह विवरण), वीथिकण्ड (चित्तको मार्ग, तरिका विवरण), वीथिमुत्त (विथिमुक्त) कण्ड (भूमि आदि विवरण), रूपकण्ड (२८ रूपको विवरण), समुच्चयकण्ड (अकुसल आदि विवरण), पच्चय (प्रत्यय) कण्ड (प्रतीत्यसमुत्पाद विवरण) र कम्मट्ठान (कर्मस्थान) कण्ड (समथ विपस्सना विवरण) हुन् । यस ग्रन्थका मूल लेखक आचार्य अनुरुद्ध (चौथो, पाँचौँ शताब्दिका) हुन् । उनी आचार्य बुद्धघोषका समकालीन मानिन्छन् । यस ग्रन्थ नेपालमा नेपाल भाषा र नेपालीमा पनि प्राप्य छन् । यसको विस्तृत अनुवाद भिक्षु बुद्धघोष महास्थवीर र भिक्षु ज्ञानपूर्णिक महास्थवीरले गरेका छन् भने संक्षिप्त अनुवाद–धम्मवती गुरुमाँबाट भएको छ । यसैगरी अभिधर्मको सातै ग्रन्थहरूको परिचयका साथ अभिधम्म स्मारिका पनि प्रकाशित भएको पाइन्छ । यसरी नेपालमा अभिधर्म ग्रन्थको उपलब्धता रहेको छ र यसबाट अधिकभन्दा अधिक लाभ लिन सक्नुपर्ने देखिन्छ । (लेखक त्रिविविका पूर्वसहप्राध्यापक हुन्)

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १२ : ३९ बजे

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान

नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको शालिक अनावरण

नेपालगन्ज । नेपाल मै पहिलो पटक नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको