२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै



मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक तथा शाखा सडकलगायत पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन् । त्यस्ता पदमार्गको संरक्षण, विकास र प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ पछिल्लो समय एक्याप जोमसोम र लोमान्थाङले यहाँका पाँचैवटा स्थानीय तहमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिरहेको छ ।

थासाङ गाउँपालिका–४ पैरोथाप्लादेखि वारागुङ मुत्तिक्षेत्र–३ छुसाङसम्म कार्यक्षेत्र रहेको एक्याप जोमसोम कार्यालयले चालु आर्थिक वर्षका लागि ११ वटा पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति गर्न ३२ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । एक्याप जोमसोम कार्यक्षेत्रका ११ वटा पर्यटकीय पदमार्ग मर्मतमध्ये तीनवटा सम्पन्न भइसकेको र अन्य पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नतिको चरणमा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । उनका अनुसार थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका पदमार्ग चौडा गर्ने, सरसफाइ गर्ने, जोखिममा रहेका पदमार्गमा छप्पनी ढुङ्गा बिछ्याउने, पदमार्ग उकास्न ग्याबिन वाल र रेलिङ लगाउने काम भइरहेको छ ।

एक्याप जोमसोमले चालु आवमा यहाँको चोेखोपानीदेखि सौरु जोड्ने पदमार्ग, भुतर्छो ताल वरिपरि परिक्रमा गर्ने पदमार्ग, चिमाङ गाउँभित्र जाने पदमार्ग, सौरुदेखि सिर्खुम जाने थाङ्मेडाँडा पदमार्ग र टिटीदेखि लुप्साङ खर्क जाने पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको छ । थासाङको छयोदेखि टिटीताल जाने नयाँ वैकल्पिक पदमार्ग, झिप्रा देउरालीदेखि प्याचु पदमार्ग स्तरोन्नति भइरहेको कार्यालय प्रमुख गुप्ताले बताए ।

त्यसैगरी घरपझोङ गाउँपालिकाअन्तर्गत सम्ले गाउँभित्र जाने पदमार्ग र नमखुलेकदेखि तिलिचो ताल जाने पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत मनाङबाट आएका विदेशी पर्यटकका लागि थोरङफेदीदेखि छेङ्गुर झर्ने पर्यटकीय पदमार्ग र मुक्तिनाथ रानीपौवा पुराङदेखि झारकोट गाउँभित्रसम्मको पुरानो पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति भइरहेको छ ।

एक्याप जोमसोमले अघिल्लो वर्ष यहाँको पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिका लागि २७ लाख ९० हजार रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेटअनुसार थासाङ गाउँपालिकाको कालोपानीदेखि धुलोडाँडासम्मको नयाँ पर्यटकीय पदमार्ग निर्माणसहित छवटा पर्यटकीय पदमार्ग मर्मत तथा स्तरोन्नति गरेको थियो ।

यहाँको एक्याप लोमान्थाङले पनि पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिमा जोड दिइरहेको छ । यसका लागि चालु आवमा १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। एक्याप लोमान्थाङले यस वर्ष छुसाङदेखि तेताङ पदमार्ग, ताङ्ग्यादेखि पा पदमार्ग, छोसेरदेखि कोन्जोलिङ पदमार्ग र मराङदेखि लोमान्थाङ जोड्ने पर्यटकी पदमार्गहमा मर्मत तथा स्तरोन्नति गरिरहेको छ । पछिल्लो तीन आवमा माथिल्लो मुस्ताङमा २० किमी दूरीमा पदमार्ग मर्मत तथा स्तरोन्नति गरिएको प्रमुख पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ११ : ३५ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने