२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए



नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ । करिब चार दिनको अवधिमा कोहलपुर नगरपालिका-११ स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चायले अधिकांशले आफ्ना, झ्याल, ढोकाजस्ता सामग्री आफैँ लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घरटहरा हटाइएको बताए । उनले वास्तविका सुकुमवासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जानकारी दिँदै ‘होल्डिङ सेन्टर’मा बस्नेहरू पनि घट्दै गएको जानकारी दिए ।

बस्ती भत्काउने विषय रहरको विषय नभएको उल्लेख गर्दै नगरप्रमुख आर्चायले आधारभूत आवश्यक्ता पूरा गर्ने उद्देश्यले पहिलो दिन झूल वितरण गरिएको र २५ केजी चामल, पाँच केजी दालसहित खाद्यान्नको करिब रु पाँच लाख बराबरको ‘प्याकेज’ बनाएर तयारी अवस्थामा थियो तर, वितरणमा थप कठिनाइ भएपछि त्यसलाई स्थगन गरेर सूचना प्रकाशन गरिएको बताए । हाल नगरपालिकालाई १०२ घरको विवरण प्राप्त भएको छ ।

उनले भने, “वास्तविक सुकुमवासीलाई सम्भव भए कुनै जग्गाको व्यवस्थापन गरिनेछ, भएन भने कार्यविधि बनाएर उनीहरूलाई जीवन निर्वाह भत्ता प्रदान गरिने छ ।” कोहलपुर नगरपालिकाले वडा नं ११ स्थित क्रिकेट मैदान आसपास रहेको सुकुमवासी बस्तीमा डोजर चलाएर बस्ती हटाएपछि प्रभावित परिवारलाई कोहलपुर नयाँ बसपार्क भवनमा अस्थायी रूपमा राखिएको छ ।

होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवारले आफूहरूसँग कुनै घरजग्गा नरहेको र अब भविष्य के हुने भन्ने चिन्ता बढेको बताएका छन् । “कहिलेसम्म यसरी बस्नुपर्ने हो थाहा छैन,” होल्डिङ सेन्टरमा बस्नुभएका प्रेम विकले भने । कोहलपुर नगरपालिकाले बसपार्क भवनका तीन तलामा परिवारको सङ्ख्याअनुसार समूहगत रूपमा राखेको छ ।

दैनिक ज्यालादारी श्रम गरेर जीविकोपार्जन गर्दै आएका अधिकांश परिवारको अन्नपात सकिन लागेको र खाद्यान्न सङ्कट देखिन थालेको प्रभावितहरूले बताएका छन् । नगरपालिकाले कम्तीमा रासनपानीको व्यवस्था गरिदिए राहत हुने उनीहरूको आग्रह छ । केही महिला सुकुमवासीले महिला र पुरुष एकै हलमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भइरहेको बताएका छन् । त्यहाँ बसोबास गर्ने अधिकांश दलित र मधेसी समुदायका छन् । सो सेन्टरमा २७९ जना रहेका छन् । त्यसमा करिब ६० जना बालबालिका छन् । यसमध्ये पनि होल्डिङ सेन्टरमा बस्ने परिवार घट्दै गएको नगरपालिकाले जनाएको छ ।

यसैबीच, बाँकेका विभिन्न मानवअधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको टोलीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीका विषयमा जानकारी लिएको छ । सो टोलीले कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगरपालिका ईश्वरीप्रसाद विक र भूमि समस्या समाधान आयोग बाँकेका पूर्वअध्यक्ष घननाथ खनालसँग भेटघाट गरी घटनासम्बन्धी जानकारी लिएको छ ।

बाँकेमा ५३ हजार ७०० भन्दा बढी परिवार सुकुमवासी छन् । सुकुम्वासी आयोग विघटन भएसँगै पुर्जा वितरण, नापजाँच र राजस्व सङ्कलन लगायतका काम ठप्प हुँदा थप अन्योल देखिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १२ : २० बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य