५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’



म्याग्दी । सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो ।

बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिए । “क्यामेरामा कैद हुने दृष्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्नेछ”, उनले भने, “यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवि (किरा/जुका)को अवस्थाका विषयमा पनि अध्ययन भइरहेको छ ।”

हाब्रेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरि अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको छ । समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङेकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

यसअघि जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको कार्यक्रम अधिकृत राइले बताउनुभयो । सो क्षेत्रमा छवटादेखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको उनले बताए ।

स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्विर भिडियो सार्वजनिक गरेका थिए ।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्छ ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ६ : ४८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं