५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाँकेमा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न



बाँके । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण गर्न स्थानीय तहको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिकामा दुई दिने सचेतनामूलक तथा क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजना तथा जानकी गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिममा मानव बेचबिखन न्यूनीकरण, सुरक्षित आप्रवासन, बाल अधिकार संरक्षण तथा किशोर-किशोरी सुरक्षासम्बन्धी विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले खुला सिमानाका कारण बाँके जिल्ला विशेष जोखिममा रहेकाले समुदायस्तरमै सचेतना अभिवृद्धि आवश्यक रहेको बताए ।

उनले मानव बेचबिखन नियन्त्रण केवल सरकारी निकायको दायित्व मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा गाउँ-टोलसम्म पुगेर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष खाँले भने, “मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्न परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच समन्वय अत्यन्त जरुरी छ । अहिलेको तालिमले विद्यार्थीलाई सचेत बनाउने मात्र होइन, उनीहरूलाई समाजमा सकारात्मक सन्देश फैलाउने दूतको रूपमा तयार गरेको छ ।

गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले नेपाल-भारत खुला सिमानाका कारण जानकी गाउँपालिका उच्च जोखिम क्षेत्रमा पर्ने भएकाले स्थानीय तहले विशेष सतर्कता अपनाउनुपर्ने बताए ।

उनले सुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखनका संकेत, दलालको प्रलोभनबाट जोगिने उपाय तथा कानुनी जानकारीबारे विद्यालयस्तरबाटै शिक्षा दिन आवश्यक रहेको धारणा राखे ।

उनले भने, “खुला सिमाना अवसरसँगै चुनौती पनि हो । धेरै युवायुवती झुटा आश्वासन र प्रलोभनमा परेर जोखिममा पर्ने गरेका छन् । यस्ता तालिमले विद्यार्थीमार्फत घरघरमा सचेतना फैलाउने विश्वास लिएका छौं ।”

सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको बताउँदै सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र विभिन्न प्रलोभनमार्फत युवायुवतीलाई फसाउने घटना बढिरहेको उल्लेख गरे ।

कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाहीले विद्यालय तहमा यस्ता व्यवहारिक तथा सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउँदै विद्यार्थीमा आत्मविश्वास, सचेतना र जोखिम पहिचान गर्ने क्षमता विकास भएको बताइन् ।

तालिमकी प्रमुख प्रशिक्षक तथा शक्ति समूह लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले मानव बेचबिखन अहिले डिजिटल माध्यम, वैदेशिक रोजगारी, विवाह तथा आकर्षक आम्दानीको प्रलोभनमार्फत फैलिरहेको बताइन् ।

उनले विशेषगरी किशोरी, महिला तथा आर्थिक रूपमा कमजोर वर्ग बढी जोखिममा पर्ने भएकाले समुदायस्तरमै निगरानी र सचेतना बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा आयोजक संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खानले प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुका साथै जानकी गाउँपालिका, सोहराब अली र कन्या माध्यमिक विद्यालयलाई सम्मान गरेका थिए ।

तालिममा शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेल, प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्याय, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, सहायक शिक्षा अधिकृत झुमी कुमारी वलीलगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा ७० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा वडा नं. ५ का अध्यक्ष एवं पालिका प्रवक्ता टिकानाथ यादव, हुरीपपकी सचिव शरिला घर्तिमगरलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ८ : ५४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं