काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् । उनले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
अरगरियाले एमालेमा प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफू र आफूसँग आएका नेताकार्यकर्ताको समायोजन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू नेतृत्वसँग पटकपटक समायोजनको विषय उठाए पनि कुनै पहल नभएको बताएका छन् ।
उनले जारी गरेको वक्तव्यमा भनेका छन्, “एमालेमा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन । आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन् ।”
अरगरियाले पार्टीभित्र संगठन शुद्धीकरण हुन नसकेको आरोपसमेत लगाएका छन् । पार्टीका आधिकारिक उम्मेदवारलाई पटकपटक हराउने व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गर्ने प्रवृत्ति रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
“पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु,” उनले वक्तव्यमा उल्लेख गरेका छन् ।
यी विषयमा पटकपटक पार्टी नेतृत्वलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले आजदेखि एमालेसँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य गरेको बताएका छन् ।
अरगरिया २०७९ भदौ ३० गते लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० परित्याग गरेर एमाले प्रवेश गरेका थिए । उनी धनुषा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्याशीसमेत बनेका थिए ।




















प्रतिक्रिया