काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो ।
आमनागरिकको जिउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको पनि जनाएको छ ।
टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्रालयले भनेको छ, “यस घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको छ ।”
सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिनेगरी सुरक्षा रणनीति अख्तियार गर्नसमेत निर्देशन दिइसकेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ । विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरोकारवाला निकायहरूसँगसमेत पटकपटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहलकदमी अगाडि बढाएको मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।




















प्रतिक्रिया