१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित, कुशल भुर्तेलको विस्फोटक शतक



काठमाडौं । सिंगापुरमा जारी एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको समूह चरणअन्तर्गत पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको सानदार जित दर्ता गरेको छ।

आइतबार बिहान सिंगापुर नेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो। नेपालको प्रभावशाली बलिङसामु चिनियाँ ब्याटरहरू टिक्न नसक्दा नेपालले सहज जित हात पार्यो।

चीनलाई सस्तैमा समेट्ने क्रममा कुशल मल्लले १.२ ओभरमा एक मेडनसहित ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे भने नन्दन यादवले १ विकेट लिए। चीनका लागि सेनजियान झेङले सर्वाधिक ३१ रन बनाए। डु जिनहाओले १७ तथा कप्तान टियान सेनक्वुनले १२ रन जोडे।

यसअघि टस जितेर फिल्डिङ रोजेको चीनविरुद्ध नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार पारेको थियो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो दोस्रो ठूलो स्कोर हो। यसअघि नेपालले सन् २०२३ को हाङझाओ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।

नेपालको विशाल स्कोर निर्माणमा ओपनर कुशल भुर्तेल र कुशल मल्लबीच दोस्रो विकेटका लागि १७५ रनको उत्कृष्ट साझेदारी रह्यो। यो साझेदारीसँगै उनीहरूले सन् २०१९ मा सिंगापुरमै पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि बनाएको १४५ रनको अविजित साझेदारीको कीर्तिमान तोडेका छन्।

यो साझेदारी नेपालको टी-२० अन्तर्राष्ट्रिय इतिहासमा कुनै पनि विकेटका लागि भएको दोस्रो ठूलो साझेदारीसमेत बनेको छ। यसअघि रोहित पौडेल र कुशल मल्लले सन् २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए।

नेपालको इनिङ्सका नायक बनेका कुशल भुर्तेलले केवल ४३ बलमा ५ चौका र १६ छक्काको मद्दतले १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले ३५ बलमै शतक पूरा गरेका थिए, जसक्रममा ४ चौका र १२ छक्का प्रहार गरेका थिए। भुर्तेल डेङ जिंकीको बलमा क्याच आउट भए।

यस प्रदर्शनसँगै भुर्तेल नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। उनले ७७ खेलमा ९९ छक्का प्रहार गरेका छन्। यसअघि यो कीर्तिमान दीपेन्द्रसिंह ऐरीको नाममा थियो, जसले ८९ छक्का प्रहार गरेका थिए।

मध्यक्रममा कप्तान रोहित पौडेलले १९ बलमा ५ चौका र ६ छक्कासहित अविजित ६९ रन बनाए। कुशल मल्लले पनि ४७ बलमा ८ चौका र ५ छक्काको सहयोगमा अविजित ९५ रनको उत्कृष्ट योगदान दिए।

नेपालले प्रतियोगिताको सुरुआतमै ब्याटिङ र बलिङ दुवै विभागमा प्रभावशाली प्रदर्शन गर्दै उपाधि दाबेदारीलाई बलियो बनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ११ : ०६ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको

चीनमाथि नेपालको २२१ रनको ऐतिहासिक जित, कुशल भुर्तेलको विस्फोटक शतक

काठमाडौं । सिंगापुरमा जारी एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको समूह

सुर्तीजन्य पदार्थको सेवन त्याग्न स्वास्थ्यमन्त्री मेहताको आग्रह

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य

कान्ति लोकपथको बगुवा खोला पुलमा ट्रक दुर्घटना, चालकको मृत्यु

हेटौंडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको