५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता



भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झोता गरिएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजनाअन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्द्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न हालै यहाँका चार स्थानीय तहसँग विकास साझेदारी सम्झौता गरिएको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिकाबीच परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा विभागका महानिर्देशक रवीन्द्र बोहरा तथा सम्बन्धित नगरपालिकाका प्रमुख एवं प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

विश्व बैङ्कले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब ८५ मिलियन अमेरिकी डलर (करिब रु १२ अर्ब ६६ करोड) बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ । पाँच वर्ष सञ्चालन हुने परियोजनाअन्तर्गत प्रत्येक नगरपालिकामा करिब रु ४६ करोड बराबरको लगानी गरिने जनाइएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिषकुमार यादवका अनुसार आगामी आर्थिक वर्षको सुरुआत मै परियोजनाअन्तर्गत पहिलो किस्ताका रूपमा प्रत्येक नगरपालिकामा करिब रु नौ करोड उपलब्ध गराइनेछ ।

परियोजनाको मुख्य लक्ष्य बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जनका अवसर सिर्जना गर्नु रहेको छ । परियोजनामार्फत पर्यटक बसाइँ अवधि वृद्धि, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटनजन्य सेवा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बुद्धको जीवनसँग जोडिएका ऐतिहासिकस्थलको संरक्षण र प्रवर्द्धनबाट अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

परियोजनाअन्तर्गत सम्पदामैत्री पदमार्ग, विश्रामस्थल, सार्वजनिक शौचालय, डिजिटल सूचना बोर्ड, सङ्केत चिह्न, खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापनका संरचना निर्माण गरिनेछन् । साथै, स्थानीय युवालाई पथप्रदर्शकका रूपमा तालिम दिई रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

गन्तव्य विकास र पर्यटन व्यवस्थापनसम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष तथा नेपाल पर्यटन बोर्डले समन्वय गर्नेछन् भने भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागले लिनेछ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले परियोजनाले लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ अवधि बढाउन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताइन् ।

पर्यटन व्यवसायीहरूले पनि परियोजनाको प्रभावकारी कार्यान्वयन भए बुद्ध जन्मस्थल लुम्बिनी तथा आसपासका क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् । हाल लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य भए पनि पर्यटकको बसाइँ अवधि छोटो रहेकाले त्यसलाई बढाउन पूर्वाधार तथा सेवा विस्तार आवश्यक रहेको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  २ : ४७ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान