२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विधामा उत्कृष्टलाई ‘अवार्ड’



काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विधामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ ।

चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्टलाई मङ्गलबार अवार्ड वितरण गरिएको हो ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’का लेखक विवेक गुरुङ, उत्कृष्ट निर्देशक अवार्ड लिम्बू चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन, उत्कृष्ट अभिनेता अवार्ड मगर चलचित्र ‘दिलसरा’का अभिनेता कल्याण रानामगर तथा उत्कृष्ट अभिनेत्री अवार्ड नेवारी चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठले प्रदान गरियो ।

उत्कृष्ट छायाङ्कन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड २०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको चलचित्र महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिए ।

उत्कृष्ट कलाकार तथा चलचित्रकर्मी, चलचित्र, लघुचलचित्र र वृत्तचित्रलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले सम्मान प्रदान गरेका थिए ।

काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा यही जेठ १७ मा सुरु भएको महोत्सव मङ्गलबार साँझ सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तक्र्रिया, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका खानाका स्टल राखिएका थिए ।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघुचलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्रहरू प्रदर्शन गरिएको थियो । महोत्सवले आदिवासी जनजाति चलचित्रकर्मी, अनुसन्धानकर्ता र सांस्कृतिक अभियान्ताबीच नयाँ संवाद, सहकार्य तथा वैकल्पिक सिनेम्याटिक विमर्शका लागि महत्त्वपूर्ण आधार तय गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा आदिवासी जनजातिहरूको भाषा, इतिहास, भूमि, पूर्वजहरूको स्मृति र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोलेको निर्देशक केरुङले जानकारी दिए । “आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनका रूपमा मात्र नभई सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतासँग जोडेर हेरिनुपर्छ । महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रूपमा स्थापित गरेको छ”, उनले भने, “हाल विश्व मानव सभ्यता गम्भीर ज्ञान सङ्कटको मोडमा उभिएको छ । महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, प्रतिनिधित्व, भाषिक पुनःजागरण, ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोध तथा स्वतन्त्रताको अन्तरराष्ट्रिय सिनेम्याटिक आन्दोलन पनि हो ।”

नेपालमा आदिवासी जनजातिसँग सम्बन्धित करिब डेढ हजारभन्दा बढी चलचित्र, लघुचलचित्र तथा वृत्तचित्रहरू निर्माण गरेर प्रदर्शन भइसकेको जनाइएको छ । यहाँका आदिवासी जनजाति चलचित्रकर्मीहरूले मातृभाषा, भूमि सम्बन्ध, पूर्वजगत, लोक ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य दर्शनको विकास गरेको आयोजक नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको दाबी छ ।

महोत्सव समापन कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उपाध्यक्ष अमृत सुनुवार र चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामीले नेपालमा आदिवासी जनजाति समुदायका चलचित्रको वर्तमान अवस्था तथा महत्त्वका बारेमा आ–आफ्नो धारणा राखेका थिए । चलचित्र निर्देशक, पत्रकार एवं नेपाल अफ्रिका अन्तरराष्ट्रिय चलचित्र महोत्सवका निर्देशक डब्बु क्षेत्रीले नेपालमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र महोत्सवको अवस्थाबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १० : २३ बजे

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज

लुम्बिनी सरकार : एमालेका मन्त्रीले दिए राजीनामा, सरकारको नेतृत्व परिवर्तन बजेट पछि

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

पोखरा । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विधामा उत्कृष्टलाई ‘अवार्ड’

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार,