काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा जफत गरिएका एक करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोन र स्मार्टवाच नष्ट गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूको रोहबरमा ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको हो ।
नष्ट गरिएका उपकरणहरूमा सात वटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच रहेका छन् । ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।
मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा जफत गरी नष्ट गरिने घोषणा गरेकी थिइन् । सोही निर्देशन तथा परीक्षा सञ्चालन निर्देशिका उल्लंघन भएको ठहर गर्दै जिल्ला परीक्षा समन्वय समितिले मोबाइल नष्ट गर्ने निर्णय गरेको बताइएको छ ।
उपकरण व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो ।
प्रहरीका अनुसार अधिकांश मोबाइल फोन २४ घण्टासम्म पानी भरिएको ड्रममा डुबाएर नष्ट गरिएको हो । वाटरप्रुफ मोबाइलहरू भने फुटाएर पानीमा हालिएको थियो । पुनः प्रयोग गर्न नसकिने अवस्था सुनिश्चित गरेर मात्र उपकरण नष्ट गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार पालले मोबाइल नष्ट गर्ने निर्णय प्रहरीको एकल निर्णय नभई जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार कार्यान्वयन गरिएको बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जफत गरिएका मोबाइल लिलाम गर्दा भविष्यमा सुरक्षा चुनौती उत्पन्न हुन सक्ने भएकाले नष्ट गर्ने निर्णय गरिएको स्पष्ट पारे ।
मोबाइल नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । धेरैले अभिभावकले दुःख गरेर किनेका महँगा मोबाइल जरिवाना तिराएर फिर्ता दिनुपर्नेमा जोड दिएका छन् भने कतिपयले परीक्षा अनुशासन कायम गर्न कडा कदम आवश्यक भएको बताएका छन् ।


















प्रतिक्रिया