काठमाडौ। नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा। विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालमा विशेष गरी जलनको उपचार, पुनःस्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षहरु यस क्षेत्रमा सहकार्य गर्ने आशयपत्रमा उल्लेख छ ।
रणनीतिक साझेदारीअन्तर्गत, नबिल बैंकले नेपालभरि जलनका बिरामीहरुको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरुमा पनि यस्तै सुविधाहरु विस्तार गरिनेछ । यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाईहरु स्थापना गर्न र डायलासिस सेवाहरुलाई थप सुदृढ बनाउन पनि सहयोग गरेको हो ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले यस सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
“हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आएका छौं, सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा हामीले जहिले पनि कति जनाको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्यौं भन्ने मानक राख्ने गर्दछौं। धुलिखेल अस्पताल पनि यस्तै उद्धेश्यका साथ संचालित अस्पताल हो । यही कारण अस्पतालसँगको यस सहकार्यद्वारा हामीले सँगै धेरै मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सक्छौं भन्ने मलाई विश्वाश छ,” अध्यक्ष चौधरीले भने।
सिइओ ज्ञवालीले यस साझेदारीमार्फत समग्र मुलुक र विशेष गरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । “नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व नभई बैकंको समाजप्रतिको प्रतिबद्धताको रुपमा लिने गरेको छ। आज हामीले धुलिखेल अस्पतालसँग जुन उद्देश्यका साथ काम सुरु गरेका छौं त्यसमा कुनै कमी हुन नदिने म प्रतिबद्धता जनाउँछु,” उनले भने ।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा। रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालले स्थापनाकालदेखि नै समुदायलाई गुणस्तरीय र सुलभ चिकित्सा सेवा प्रदान गर्दै आएको उल्लेख गरे । “धुलिखेल अस्पताल समुदायमा आधारित अस्पताल हो, हामीले सुरुदेखि नै हजारौं मानिसहरूलाई गुणस्तरीय र सुलभ सेवा दिँदै आएका छौं । नबिल बैंकसँगको यो साझेदारीले हामीलाई जलन, कृत्रिम अंगसम्बन्धी उपचार र पुनःस्थापनाका साथै डायलासिस सेवामा थप सेवा प्रदान गर्न मद्दत गर्नेछ”, श्रेष्ठले भने ।



















प्रतिक्रिया