बुटवल । रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा खेलाडी एवम व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि थापा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
सोमबार भैरहवामा सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी चर्चित क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनलाई २० मतले पराजित गर्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले ६९ मत प्राप्त गरी अध्यक्ष निर्वाचित हुँदा गौचनले ४९ मत प्राप्त गरेका थिए ।
गौचन थापासँग दोस्रो पटक पराजित भएका हुन् । चार वर्षअघि भएको निर्वाचनमा पनि थापाले गौचनलाई पराजित गरेका थिए । यसपटकको निर्वाचनमा थापा र गौचनले प्यानलसहित चुनावमा होमिएकोमा दुईजना सदस्य बाहेक सबै पदमा थापा प्यानलबाट निर्वाचित भएका छन् ।
१५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा खेमराज भुसाल ६९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी सन्जीव जोशीले ४९ मत पाएका छन् । यस्तै, संघको सचिवमा उदयकुमार मल्लिकले ६८ र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले ७७ मत ल्याएर निर्वाचित भएका छन् ।
संघको महिला सदस्यमा उमा अधिकारीले ७७ मत पाएर निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार १० जना सदस्यहरुका लागि भएको निर्वाचनबाट प्रशान्तविक्रम मल्ल ८९, निरजप्रताप खाँण ७३, पुनित पोखरेल ६७, विजयसिंह ज्ञवाली ६४, मनोज भण्डारी ५९, अन्तिम थापा ५९, ज्वालेसप्रसाद प्रधान ५८, भुवन पाण्डे ५६, ताराप्रसाद पाठक ५६ र कृष्णकुमार कुँवरले ५२ मत प्राप्त गर्दै विजयी भएका छन् । १२६ मतदाता रहेको संघमा सोमबार भएको मतदानमा १ सय १९ मत खसेको थियो ।



















प्रतिक्रिया