२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन



पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा-बेनी खण्डमा पर्ने फर्से बस्तीबाट दैनिक करिब ८१२ लिटर दूध निर्यात हुँदै आएको हो ।

यहाँका ३६ वटा व्यावसायिक पशुपालन फार्मबाट उक्तमात्रामा दूध उत्पादन हुने गरेको हो । स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थामा आबद्ध कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका छन् । बजारको समस्या नभएपछि यहाँका किसान व्यावसायिक पशुपालनमा लागेका हुन् । प्रत्येक किसानले न्यूनतम पाँचदेखि ३० वटासम्म गाईभैँसीपालन गरेका छन् । दैनिक ५० देखि १०० लिटरसम्म दूध उत्पादन गर्ने किसानले बस्तीमा रहेको सङ्गम दुग्ध उत्पादक सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री गर्दै आएका छन् ।

यहाँ सङ्कलित दूध छिमेकी जिल्ला बागलुङमा रहेको दुग्ध सहकारी संस्थाले खरिद गर्दै आएको छ । उक्त संस्थाले प्रतिलिटर रु ९० देखि गुणस्तरका आधारमा रु १२५ सम्मका दरले किसानबाट दूध लिने गरेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार दूध बिक्रीबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।

सहकारीमा दूध सङ्कलन गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले प्रतिलिटर रु पाँचका दरले ढुवानी अनुदानसमेत दिँदै आएको छ । ढुवानी अनुदान पाएपछि किसानलाई सहज भएको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार दूध उत्पादक किसानलाई सहकारीले बैंक खातामा रकम भुक्तानी दिने गरेको छ ।

दुधालु गाईभैँसीको बिमासमेत गरिएकाले किसानको पशुधन सुरक्षित भएका सहकारीका सचिव हरेमबहादुर खत्रीले बताए । बजारको समस्या नभएकाले र पर्याप्त मूल्य पाउने भएकाले यहाँ पशुपालन गर्नेको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

स्थानीय किसान राजन सापकोटाले आफूले लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकामा पछिल्लो समय गाईपालनतर्फ लागेको बताए । तरकारीभन्दा गाईपालनमा कम परिश्रम र बढी मुनाफा हुने भएकाले तरकारीखेतीको विकल्प रोजेको उनको भनाइ छ । उनले मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका नारायण जिसीले विदेशमा भन्दा आफ्नै माटोमा प्रशस्त आम्दानी हुने देखेपछि वैदेशिक रोजगारी छोडेको बताए । उनका अनुसार दैनिक ८० लिटर दूध उत्पादन हुन्छ ।

पशुपालन छाडेर आठ वर्ष खाडीमुलुक साउदी अरब बसेका जिसीले फेरि फर्केर यही पेसालाई निरन्तरता दिएका हुन् । उनले वार्षिक रूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । रु १५ लाख लगानी गरेर व्यवसाय थालेका जिसीले व्यवसायलाई अझै बढाउने योजना बनाएका छन् ।

यहाँ आएर पशुपालन गर्ने हो भने कोही पनि युवायुवती विदेश जानु नपर्ने स्थानीय किसान बताउँछन् । गाईपालनसँगै व्यावसायिक तरकारीखेतीमार्फत प्रशस्त आम्दानी गर्न सकिने यहाँका किसानको अनुभव छ ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिलिटर दूध ढुवानीमा रु पाँचका दरले अनुदान दिँदै आइएको बताए । यसबाहेक चालु आर्थिक वर्षमा बृहत्तर पशु विकास कार्यक्रममार्फत रु आठ लाख कार्यालयले सहयोग गरेको छ ।

उक्त सहयोगले किसानले भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्री खरिद गरेका छन् । जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउनका लागि कार्यालयले कृषक, पशुपालन गर्ने सहकारी र दुग्ध डेरीलाई विभिन्न प्राविधिक सहयोगका साथै अनुदानसमेत दिँदै आएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ९ : २७ बजे

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम