२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण



काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर माध्यमिक विद्यालय’ले पछिल्ला दिनमा विद्यार्थीको चाप अत्यधिक बढेकाले पढ्न इच्छुक सबैलाई विद्यालयमा समेट्न कठिन हुने अवस्था सर्जना भएको जनाएको छ ।

विद्यालयका अनुसार राणा प्रधानमन्त्री पद्मशम्शेरको शासनकालमा २००३ सालमा स्थापना भई तत्कालीन राजा त्रिभुवनबाट स्थापनाको चार वर्षपछि २००७ सालमा औपचारिक रुपमा उद्घाटन भएको क्षेत्रपाटी, न्योह्खास्थित सो विद्यालयमा गुणस्तरीय शिक्षासहित उत्कृष्ट नतिजा आउन थालेपछि विद्यार्थीको आकर्षण बढी सबैलाई समेट्न कठिन हुने भएको हो ।

मुलुकको विद्यालय शिक्षातर्फ ८० वर्षको सुनौलो इतिहास बोकेको कन्या मन्दिर माविले पछिल्ला वर्षमा छात्राहरूको रोजाइमा पर्न थालेसँगै शिक्षकको दैनिक ‘कार्यबोझ’ थप गरी सबैजसो कक्षामा ‘सेक्सन’ विस्तारसहित शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको तर अब बढी विद्यार्थी लिन कठिन हुने स्पष्ट गरेको छ ।

काठमाडौं महानगरपालिकाको वडा नं १७, १८ र २५ जस्तो मुख्य सहरी क्षेत्रभित्र करिब ३० रोपनी क्षेत्रफलमा अवस्थित उक्त सामुदायिक विद्यालयमा कक्षा इसिडीदेखि १२ सम्ममा करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक घनश्याम न्यौपानेले जानकारी दिए।

‘एसइई’ र ‘बिएलई’तर्फ ९७–९८ प्रतिशत नतिजा ल्याई आमअभिभावक र विद्यार्थीको रोजाइमा पर्न सफल कन्या मन्दिर माविले गुणस्तरीय शिक्षासहित अनुशासन, सशक्तीकरण, व्यावहारिक एवं सीपमूलक ज्ञान, आत्मविश्वास, नेतृत्व विकासजस्ता पक्षलाई प्राथमिकता दिएको प्रधानाध्यापक न्यौपानेको भनाइ छ ।

उनले भने, “चालिसको दशकसम्म एसएलसी परीक्षामा लगातार ‘सर्वोत्कृष्ट १०’ मा परी गौरवपूर्ण इतिहास रच्न सफल विद्यालयको पाँच वर्षअघिको नतिजा निराशाजनक थियो । काठमाडौं महानगरपालिकाको विशेष सक्रियतामा सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई उत्प्रेरित गरी स्पष्ट कार्ययोजनासहित शैक्षिक कार्यक्रम अघि बढाइएकामा अपेक्षित एवं उत्साहजनक नतिजा आउनेक्रम सुरु भएको छ । कन्या मन्दिर माविको सुनौलो इतिहासलाई जोगाउँदै अझ सर्वोत्कृष्ट बनाउने अभियानमा विद्यालय परिवारबीच अहिले अभूतपूर्व एकता कायम भएको अवस्था छ ।”

प्रधानाध्यापक न्यौपानेका अनुसार कम्प्युटर शिक्षालाई उच्च प्राथमिकता राखेर अङ्ग्रेजी भाषामा अध्यापन गराउने र प्रविधीमैत्री अर्थात् ‘स्माट बोर्ड’को प्रयोग गर्दै हरेक विषयअन्तर्गत पठनपाठन भइरहेको ‘एकाई’ सकिनासाथ आन्तरिक परीक्षा लिने परिपाटीलाई कडाइका साथ पालना गर्दा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगेको हो ।

सो विद्यालयमा २७ वटा मात्र शिक्षक दरबन्दी रहेका सन्दर्भमा काठमाडौं महानगरपालिकाको सहयोग र विद्यालयको आफ्नै स्रोतसमेत गरी २९ जना थपसहित जम्मा ५६ जना शिक्षक कार्यरत छन् । विद्यालयप्रति आकर्षण बढेसँगै विद्यार्थी सङ्ख्याका आधारमा विषयगत शिक्षक दरबन्दी अपुग भएकाले दरबन्दी थप व्यवस्थाका लागि महानगरपालिकासँग विद्यालयले अनुरोध गरेको छ ।

विद्यालयले कानुन, विज्ञान, शिक्षा र व्यवस्थापन विषयमा कक्षा ११ र १२ पढ्न आउने विद्यार्थीको चाप बढेका सन्दर्भमा यथासक्य ‘सेक्सन’ थप गरेर भने पनि कक्षा सञ्चालन गरी विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न अधिकतम प्रयास गर्ने प्रतिबद्धतासहित आवश्यक व्यवस्था गरेको छ ।

यसैगरी, विद्यालय व्यवस्थापनकोतर्फबाट कन्या मन्दिर माविको विद्यार्थी चापका कारण शैक्षिक गतिविधि सञ्चालन तथा व्यवस्थापनमा केही कठिनाइ सिर्जना भए पनि यथासक्य सबैलाई समेट्न कोशिस गरिने स्पष्ट गरिएको छ ।

त्यस्तै, वडा नं १७ का अध्यक्षका हैसियतले कन्या मन्दिर माविको व्यवस्थापन समितिका यसअघि अध्यक्ष भएका काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पछिल्लो समय कामपाले सामुदायिक विद्यालयमा उल्लेख्य रुपमा लगानी बढाएको प्रसङ्ग उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव कन्या मन्दिरमा परेका बताए । उनले कन्यामन्दिर माविमा भर्ना हुन चाहने विद्यार्थीको चाप बढेको उल्लेख गर्दै आवश्यक स्रोतसाधन बढाएर भए पनि पढ्न इच्छुक विद्यार्थीको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

विशेषगरी, काठमाडौं उपत्यकामा बसोबास गर्ने मुस्लिम समुदायका नानीहरूको रोजाइमा कन्या मन्दिर मावि रहेका अवस्थालाई दृष्टिगत गरी ‘नमाज’ पढ्नका लागि एउटा छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको र विद्यालयमा करिब ३५ प्रतिशत विद्यार्थी सो समुदायबाट रहेको विद्यालयले जनाएको छ ।

यसैगरी, विद्यालय परिसरमा सौन्दर्यका रुपमा रहेको लिच्छवीकालीन ‘इखा’ पोखराको पुनःनिर्माणका क्रममा चार वटा ‘फल्चा’सहित ९० प्रतिशत काम सकिएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई ‘नेपाल भाषा’को पाठ्यक्रममा आधारित रहेर ऐतिहासिक जानकारी दिन उक्त पोखरी उपयोगी हुने प्रवक्ता मानन्धरले बताए ।

सुरुमा बाङ्गेमुढासम्म पोखरी फैलिएको भन्ने जनविश्वास रहेको सुनाउँदै प्रवक्ता मानन्धरले भने, “लिच्छवीकालीन ऐतिहासिक महत्वको इखा पोखरीलाई काठमाडौंवासीले धार्मिक, सांस्कृतिक तथा स्वास्थ्यसँग जोडेर हेर्दछन् । आँखा दुख्दा सो पोखरीको पानीले धोएमा निको हुने जनविश्वास रहेको छ ।”

उनले भने, “मुलुकको शैक्षिक धरोहरका रुपमा स्थापित कन्या मन्दिर मावि परिसरमा रहेको इखा पोखरीको पुनःनिर्माण तथा संरक्षणसहित समग्र शैक्षिक उत्थानका पक्षमा महानगरपालिका रहेको छ । आफ्नो वडाभित्र रहेको विद्यालयको शैक्षिक, भौतिक, जनशक्ति व्यवस्थापनमा यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १ : ३६ बजे

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल

कर्तव्यनिष्ट असी जना बुहारी सम्मानित

अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान