९ भदौ २०८३, मंगलबार | August 26, 2026

भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा



ललितपुर । वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन (भोटो जात्रा) भएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।

नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ ।

गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई ३२ हात अग्लो रथमा विराजमान गराई परिक्रमा गराइएको थियो । रथ पुल्चोक, गाः बहाल, मङ्गलबजार, सुनधारा, लगनखेल हुँदै ठटीटोलसम्म पुर्‍याइएको थियो । परम्पराअनुसार तिथि हेराई ठटीटोलबाट रथलाई पश्चिमतर्फ तानेर जावलाखेल ल्याइन्छ र जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन रहिआएको छ ।

राष्ट्रप्रमुख तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा भोटो देखाउने परम्पराअनुसार यस वर्षको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री वालेन्द्र शाह सहभागी भएका थिए । हजारौँ भक्तजन तथा दर्शकको उपस्थितिमा आयोजित कार्यक्रममा गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले परम्पराअनुसार रथको माथिल्लो भागबाट भक्तजनलाई भोटो प्रदर्शन गरे ।

भोटो प्रदर्शनसँग जोडिएको एउटा रोचक किंवदन्ती पनि प्रचलित छ । परम्पराअनुसार भोटो देखाउने क्रममा “यो भोटो कसको हो ?” भन्ने प्रश्न सार्वजनिक रूपमा सोधिने गरिन्छ । किंवदन्तीमा एक किसानले नागराजाबाट प्राप्त गरेको बहुमूल्य भोटो हराएपछि त्यसको दाबी कसले गर्ने भन्ने विवाद उत्पन्न भएको र त्यसैको स्मरणस्वरूप हरेक वर्ष भोटो देखाउने परम्परा सुरु भएको विश्वास गरिन्छ । यद्यपि हालसम्म कसैले पनि उक्त भोटो आफ्नो भएको प्रमाणसहित दाबी गर्न सकेको इतिहास छैन ।

करिब एक हजार ६०० वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै प्राचीन तथा महत्त्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ । विशेषगरी काठमाडौँ उपत्यकामा वर्षा, कृषि उत्पादन र समृद्धिको कामना गर्दै यो जात्रा मनाउने गरिन्छ ।

भोटो प्रदर्शन कार्यक्रम सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको देवमूर्तिलाई रथबाट निकालेर सानो खटमा राखी बाजागाजासहित बुँगमती लगिएको छ । देवतालाई बुँगमती पुर्‍याएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा विधिवत रूपमा सम्पन्न भएको मानिने परम्परा रहिआएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : ५० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त