१२ असार २०८३, शुक्रबार | June 26, 2026

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री पदको निर्वाचनअघि नाटकीय राजनीतिक समीकरण बनेको छ।

महामन्त्री पदका आकांक्षी चार नेताले उम्मेदवारी फिर्ता लिँदै विपिन कुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्।

प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेलले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरू प्रतिस्पर्धाबाट पछि हटेको र महाधिवेशन प्रतिनिधिलाई विपिन आचार्यलाई मतदान गर्न आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनमा गणेश पराजुलीले भने, ‘हामी सबै-कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल र म-विपिन आचार्यलाई समर्थन गर्ने निर्णयमा पुगेका छौं। महाधिवेशन प्रतिनिधिहरूलाई अब अप्ठ्यारो निर्णय गर्नुपर्ने अवस्था छैन। हामी सबैको समर्थन विपिन आचार्यलाई छ र उहाँलाई मतदान गर्न अनुरोध गर्दछौं।’

महाधिवेशनमा मतदान सुरु हुनुअघि पार्टी सभापति रवि लामिछानेले विपिन आचार्यलाई सर्वसम्मत महामन्त्री बनाउने प्रयास गरेका थिए। सर्वसम्मतिको प्रयास सफल नभएपछि क्रमशः केही उम्मेदवारहरू प्रतिस्पर्धाबाट बाहिरिँदै विपिनको पक्षमा खुलेका हुन्।

निवर्तमान महामन्त्री तथा पूर्व उपसभापति डीपी अर्याल निकट मानिने कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीले समेत विपिनलाई समर्थन गरेपछि महामन्त्रीको प्रतिस्पर्धाको समीकरण थप रोचक बनेको छ।

यस्तै, महामन्त्रीका अर्का आकांक्षी तथा पूर्वमन्त्री शिशिर खनालले यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। यद्यपि उनी समर्थन घोषणा कार्यक्रममा सहभागी भएनन्। स्रोतका अनुसार उनले महामन्त्रीका अर्का उम्मेदवार मनिष झालाई समर्थन गरेका छन्। मनिष झाको मत प्रभावित हुन सक्ने आकलन गर्दै उनले उम्मेदवारी फिर्ता लिएको बताइएको छ।

आफूलाई प्राप्त समर्थनप्रति प्रतिक्रिया दिँदै विपिन आचार्यले प्रतिस्पर्धाभन्दा अघि सहकार्यको संस्कृतिलाई आफ्ना सहकर्मीहरूले स्थापित गरेको बताए।

उनले भने, ‘आज पार्टीका नेतृत्वमा पुग्ने आकांक्षा राख्ने साथीहरूले व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर पार्टीलाई एउटै धागोमा बाँध्ने सन्देश दिनुभएको छ। उन्नत लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ, तर प्रतिस्पर्धाभन्दा अगाडि सहकार्य पनि हुन्छ भन्ने उदाहरण आज प्रस्तुत भएको छ।’

यसबीच, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि महामन्त्री पदको प्रतिस्पर्धामा अब आठ जना उम्मेदवार मात्र कायम भएका छन्।

अब महामन्त्री पदका लागि राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य सहित आठ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १२ : २८ बजे

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्