मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति तथा पूर्वाधार अवस्थाको स्थलगत अनुगमन गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन्।
शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुगेका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गणेश’, सम्बन्धित मन्त्रालय तथा विभिन्न विभागका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ।
कोरला सडक आयोजनाका प्रमुख तेजश्वी शर्माका अनुसार टोलीले सडक आयोजनाको प्रगति, सीमा क्षेत्रसम्मको पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विषयमा स्थलगत जानकारी लिने उद्देश्यले निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितिमा जोमसोम–कोरला सडकखण्डमा आवश्यक पूर्वाधार निर्माण, सडक स्तरोन्नति र आगामी योजनाबारे छलफल भएको थियो। सो अवसरमा मन्त्री लम्सालले सडकखण्डमा आवश्यक पाँच वटा पुल निर्माणको प्रक्रिया तत्काल ठेक्कामा लैजान सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आयोजना प्रमुख शर्माले जोमसोम–कागबेनी सडकखण्डको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ खण्डमा कालोपत्र निर्माणको प्रगति विवरण मन्त्रीलाई अवगत गराएका थिए।
सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्म करिब ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। साथै कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेकाले बाँकी सडक स्तरोन्नति र कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता सम्बन्धमा पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ।
मन्त्री लम्साल नेतृत्वको टोलीले सडक, पुल तथा अन्य भौतिक पूर्वाधारको अवस्थाबारे विभिन्न स्थानमा स्थलगत निरीक्षण गर्दै स्थानीयसँग समेत छलफल गरेको थियो। स्थानीयवासीले कालिगण्डकी नदीको कटान, बाढी तथा पहिरोका कारण कोरला सडक, पुल तथा अन्य संरचनामा हरेक वर्ष क्षति पुग्ने जोखिम रहेको भन्दै दीर्घकालीन संरक्षणका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।



















प्रतिक्रिया