नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेले शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले औपचारिक रूपमा बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे ।
जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा समितिका सदस्य सचिव सुनिता पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
प्रतिवेदन अनुसार घरधुरी सर्वेक्षणका क्रममा बाँकेमा १६ देखि २३ महिनासम्मका ११ हजार ५ सय ६४ जना बालबालिकाको खोप अवस्था यकिन गरिएको थियो । तीमध्ये १० हजार ७ सय ९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो । बाँकी ७६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रपआउट बालबालिका पहिचान भएका थिए ।
ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार आवश्यक खोप प्रदान गरिएको र बाँकेका आठ वटै स्थानीय तहका सबै ११ हजार ५ सय ६४ जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु उपलब्धिको अन्त्य नभई दिगोपनाको सुरुवात भएको बताए । उनले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्नु सबै तहको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वयलाई निरन्तर सुदृढ गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानमा कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता कार्यमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री घिमिरे, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ तथा बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले श्रेष्ठलाई संयुक्त रूपमा सम्मानित गरेका थिए । बाँकेमा बस्दा खोप क्षेत्रमा श्रेष्ठले खेलेको योगदानको कदर गर्दै जिल्ला खोप समन्वय समिति बाँकेको निर्णय बमोजिम श्रेष्ठलाई सम्मान गरिएको हो ।
विश्वव्यापी कोभिड–१९ महामारीका बेला श्रेष्ठले खोप अभियानलाई प्रभावकारी बनाउनुका साथै क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
चुनौतीपूर्ण परिस्थितिमा उनको समन्वय क्षमता र सक्रियताले बाँकेमा महामारी व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै उनलाई तत्कालिन सरकारले कोभिड हिरो सम्मानबाट सम्मानित गरेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरी, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादु बम, जिल्ला खोप समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, साझेदार संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।



















प्रतिक्रिया