काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिएका छन् ।
भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भुसाल र डा भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यभार सम्हाल्नुअघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिएका हुन् ।
“व्यावसायिक रुपमा मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी ‘मिसन १६ खर्ब’का लागि इमानदारीपूर्वक लाग्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “चुहावट रोक्न, स्वेच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउँछ ।”
अर्थमन्त्री डा वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
भन्सार र कर आम्दानी बढाएर मुलुकको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामथ्र्यमा मुलुकले विकासको गति लिने अर्थमन्त्रीको भनाइ छ ।
अर्थमन्त्री डा वाग्लेले मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि निर्मम बन्न र इमानदारीपूर्वक काम गर्नेलाई प्रोत्साहन गर्न आग्रह गरे ।
यही असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो । नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



















प्रतिक्रिया