काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित सुकुम्बासी होल्डिङ सेन्टर शनिबार मध्यराति डुबानमा परेको छ।
नदीको बहाव बढ्दै राति करिब १ः३० बजेपछि बाढी होल्डिङ सेन्टरभित्र पसेपछि सुरक्षाकर्मीले तत्काल उद्धार अभियान सञ्चालन गरेका हुन्।
गृह मन्त्रालयका अनुसार राति १ः३८ बजे डुबानको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा डिजास्टर म्यानेजमेन्ट टोलीसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी ६० जनाको संयुक्त टोली परिचालन गरिएको थियो। उद्धारका क्रममा रबरबोटसमेत प्रयोग गरिएको थियो।
होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा स्थानान्तरण गरिएको गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान अस्वीकार गरेपछि सेन्टरभित्र पानी नपसेको सुरक्षित स्थानमा नै बसेका छन्।
बाढी पसेलगत्तै राति नै सुरक्षाकर्मी परिचालन गरी जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। उनका अनुसार होल्डिङ सेन्टरभित्र घुँडासम्म पानी जमेको थियो, जसका कारण त्यहाँ बसोबास गरिरहेका परिवारका लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोगका सामग्री भिजेका छन्।
शनिबार बिहानदेखि प्रभावित परिवारका लागि खाना, पिउने पानी तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सरकारले नदी किनारबाट विस्थापित गरी नदी किनारमै राखेका केही पीडितहरूले भने उद्धार तथा राहत व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले रातभर पानीमा डुबेर बस्नुपरेको र समयमै प्रभावकारी सहयोग नपाएको गुनासो गरेका छन्।



















प्रतिक्रिया