१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध



इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका-९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो ।

सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो संख्यामा मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् ।

“दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढ्दो छ”, प्रमुख जिल्ला अधिकारी ढकालले भने, “आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिएका थियौँ । जोखिम झन बढेकाले आजदेखि उक्त सडकखण्ड अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरेका छौँ ।”

राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी-सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

इलाम–झापा जोड्ने छोटो दूरीको केचना-कञ्चनजंघा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन ।

सडक पूर्णरूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : २६ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५