काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
मङ्गलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १८१ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ३० रन मात्र बनाउन सक्यो ।
हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपालका कप्तान सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ४ रन खर्चेर ४ विकेट लिइन् । मनिषा उपाध्यायले २ विकेट हात पारिन् भने कृश्मा गुरुङ र स्नेहा महराले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार गरेको थियो । कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्काको मद्दतमा ९० रनको उत्कृष्ट इनिङ्स खेलिन् । सावित्री धामीले ५२ रनको अर्धशतकीय योगदान दिइन् भने अलिशा यादव २३ रनमा अविजित रहिन् ।
नेपालले यू–१९ स्तरमा बनाएको यो दोस्रो ठूलो योगफल हो । साथै, जारी प्रतियोगिताकै यो सर्वाधिक स्कोर पनि बनेको छ । यसअघि नेपालले सन् २०२५ को महिला यू-१९ टी–२० विश्वकप छनोटमा कुवेतविरुद्ध २१३ रन बनाएको थियो ।
हङकङका लागि निमरा अरबले २ विकेट लिइन् भने वोङ विङ र आरुज फातिमाले समान १–१ विकेट हात पारे ।
नेपालले यसअघि समूह चरणमा कतारलाई १०५ रनले र सिङ्गापुरलाई १५१ रनले हराएको थियो । लगातार तीन जितसँगै नेपाल समूह विजेता बन्दै आत्मविश्वासका साथ क्वार्टरफाइनलमा पुगेको छ ।



















प्रतिक्रिया