३ श्रावण २०८३, आइतबार | July 19, 2026

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य



नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य छन् ।

रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए तर मेसिन बिग्रेपछि उनीहरू भारतका बहराइच, लखनउ, दिल्लीलगायतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो ।

अस्पताल प्रशासनका अनुसार मेसिन मर्मत गर्ने प्राविधिक अस्पतालमा छैनन् । मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै मर्मत गर्न अस्वीकार गरेपछि रेडियोथेरापी सेवा पुनः सञ्चालन अन्योलमा परेको हो ।

अस्पतालका अनुसार खरिद सम्झौतामा उल्लेख भएको एचएस कोड (एचएस कोड) र कन्ट्री अफ ओरिजिनभन्दा फरक विवरण भएको मेसिन आपूर्ति गरिएकाले सप्लायर्सको बाँकी भुक्तानी रोकिएको छ। भुक्तानी रोकिएपछि कम्पनीले मर्मतका लागि प्राविधिक नपठाएको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले लिन्याक मेसिन सञ्चालनका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग छलफल भइरहेको र समस्या समाधानका लागि मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए । मन्त्रालयबाट आवश्यक निर्णय भएपछि मेसिन पुनः सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उनले रेडियोथेरापी सेवा अवरुद्ध हुँदा बिरामीले भोग्नुपरेको समस्याबारे मन्त्रालयलाई जानकारी गराइसकिएको बताए ।

अस्पतालका सूचना अधिकारी डा. प्रविण गुप्ताका अनुसार मेसिन मर्मतका लागि आवश्यक प्राविधिक पठाइदिन मन्त्रालयसँग आग्रह गरिएको छ। उनले मन्त्रालयसँग रेडियोलोजी विभागका प्राविधिक जनशक्तिको समेत माग गरिएको र सकेसम्म छिटो सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जनाए ।

अस्पतालमा २०७९ पुसमा ल्याइएको उक्त लिन्याक मेसिन खरिदसम्बन्धी विवादका कारण जडान भएको तीन महिनापछि मात्रै सञ्चालनमा आएको थियो। खरिद आदेश भन्दा फरक कागजातको मसिन आएपनि खरिद सम्झौता बमोजिमको भन्सारमा आइपुग्दा गर्नुपर्ने १० प्रतिशत रकम भुक्तानी गरिएपछि सो मेसिन खरिद प्रकरण विवादीत बन्दै आएको छ । तत्कालिन कार्यकारी निर्देशक डा. कृष्ण अधिकारीले सो रकम भुक्तानी गरेका थिए । त्यसपछि अस्पतालमा पठाइएका तत्कालीन निर्देशक डा. प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिएपछि सप्लायर्सले प्राविधिक पठाएर मेसिन सञ्चालनमा ल्याएको थियो ।

तत्कालीन कार्यकारी निर्देशक भएका बेला डा. निरज भट्टराईले गरेको आग्रहका आधारमा मन्त्रालयबाट गठित छानबिन समितिले खरिद सम्झौता र भन्सार कागजातमा एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक परेको स्वीकार गरेको थियो। समितिले मेसिनको गुणस्तर सञ्चालनपछि मात्रै मूल्याङ्कन गर्न सकिने उल्लेख गर्दै प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा मेसिन सञ्चालनमा आए पनि एचएस कोड र कन्ट्री अफ ओरिजिनसम्बन्धी विषयमा मन्त्रालयबाट निर्णय नहुँदा बाँकी भुक्तानी रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार रु. २७ करोडभन्दा बढी मूल्यमा खरिद सम्झौता भएको उक्त मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ भने आठ लाख छ हजार अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १२ : ५९ बजे

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको