५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता



काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी बजार सुधारका लागि आवश्यक कानुनी, नीतिगत तथा संरचनागत परिवर्तनको माग गरेका छन्।

करिब डेढ घण्टा चलेको छलफलमा बजारको स्थायित्व, लगानीकर्ता संरक्षण र लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत रूपमा विचार–विमर्श भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा सहभागी सरोकारवालाले प्राथमिक निष्कासन (आईपीओ)देखि दोस्रो बजारसम्मका व्यवस्थामा समयानुकूल सुधार आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले संस्थागत लगानीकर्ताको दायरा विस्तार, कर प्रणाली पुनरावलोकन तथा विदेशी र गैरआवासीय नेपाली लगानीकर्तालाई आकर्षित गर्ने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार प्रधानमन्त्रीले सरकारले निजी क्षेत्र र लगानीकर्ताको विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। उनका अनुसार छलफल सकारात्मक र परिणाममुखी भएको थियो।

बैठकमा योग्य संस्थागत लगानीकर्तालाई प्राथमिक निष्कासनमा ४० प्रतिशतसम्म सेयर छुट्याउने व्यवस्था, बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा दोस्रो बजारमा मूल्य निर्धारण प्रणालीलाई अझ पारदर्शी र प्रतिस्पर्धी बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै प्रवर्द्धक तथा संस्थापक सेयर कारोबारसम्बन्धी विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।

बजारमा तरलता अभिवृद्धिका लागि इन्ट्रा–डे कारोबार, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सेक्युरिटिज नेट सेटलमेन्ट प्रणाली लागू गर्दै सर्ट सेल कारोबारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि सरोकारवालाले अघि सारेका थिए।

त्यसैगरी, पुँजीगत लाभकरको विद्यमान व्यवस्थाले बजारमा प्रतिकूल प्रभाव पारेको उल्लेख गर्दै वास्तविक नाफामा मात्र कर लगाउने व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि सरकारसमक्ष प्रस्तुत गरिएको थियो। नाफा–नोक्सान समायोजनपछि मात्रै कर निर्धारण हुने प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग छ।

छलफलमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश सहज बनाउने तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई रणनीतिक साझेदारसहित पुनर्संरचना गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको थियो।

प्रधानमन्त्री शाहले पुँजी बजारलाई थप चलायमान र विश्वासयोग्य बनाउन सरकार आवश्यक नीतिगत सुधार गर्न तयार रहेको बताएका थिए। निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीको वातावरण थप सहज बनाउने सरकारको उद्देश्य रहेको उनको भनाइ उद्धृत गरिएको छ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाललगायत पुँजी बजारका विभिन्न सरोकारवाला सहभागी थिए।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : ०१ बजे

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका