५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस



कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा पर्नु अब नयाँ विषय रहेन। गत वर्ष नेपालमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा पनि यस्तै दृश्य देखिएको थियो।

त्यतिबेला नेपाली भाषाको प्रमुख दैनिक कान्तिपुरको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। यस्तै घटना बंगलादेशमा पनि भएको थियो, जहाँ अंग्रेजी दैनिक द डेली स्टारको कार्यालयमा आगो लगाइएको थियो।

भारतमा जुलाई २० मा आयोजित सीजेपी (Cockroach Janata Party) को संसद मार्चका क्रममा पनि सञ्चारमाध्यमप्रति असन्तुष्टि खुलेर देखियो। पछिल्ला केही वर्षयता भारतमा सञ्चारमाध्यमको भूमिकालाई लिएर लगातार प्रश्न उठ्दै आएका छन्।

सरकार पक्षधर र सरकारविरोधी भनेर सञ्चारमाध्यमहरूलाई छुट्याउने प्रवृत्ति बढ्दै गएको छ। यसले भारतीय मिडिया अत्यधिक ध्रुवीकृत भएको धारणा बलियो बन्दै गएको विश्लेषकहरू बताउँछन्।

संसद मार्चका क्रममा केही सञ्चारगृहका पत्रकारविरुद्ध प्रदर्शनकारीहरूले नाराबाजी गरे। त्यसपछि सामाजिक सञ्जालमा आन्दोलनकारीको यस्तो व्यवहार उचित हो कि होइन भन्ने विषयमा व्यापक बहस सुरु भएको छ।

विशेषगरी, सरकार समर्थक छवि नभएका केही पत्रकारहरू समेत रिपोर्टिङका क्रममा आन्दोलनकारीहरूको निशानामा परेपछि पत्रकारिताको स्वतन्त्रता र सुरक्षाबारे नयाँ बहस चर्किएको हो।

पत्रकार पूनम पाण्डेले घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पुनः सेयर गर्दै लेखेकी छन्, “मिडियाप्रति असन्तुष्टि हुन सक्छ, तर रिपोर्टरलाई लक्षित गर्नु उचित होइन। रिपोर्टर नै हुन् जो चर्को घाम र वर्षाको पर्वाह नगरी घटनास्थलमा पुग्छन्। असन्तुष्टि सही ठाउँमा व्यक्त हुनुपर्छ।”

यसको जवाफमा अंग्रेजी दैनिक द हिन्दूकी उपसम्पादक विजेता सिंहले लेखिन्, “टेलिभिजनमा घृणा फैलाउने एङ्कर, प्रस्तोता वा वरिष्ठ पत्रकार र फिल्डमा खटिने रिपोर्टरबीच स्पष्ट भिन्नता गर्नुपर्छ। अधिकांश रिपोर्टर अत्यन्त मेहनती हुन्छन्।”

पत्रकारहरूबीच मतभेद

तर विजेता सिंहको यो भनाइ इन्डियन एक्सप्रेसका पूर्व सम्पादक तथा द प्रिन्टका संस्थापक शेखर गुप्तालाई स्वीकार्य भएन।

उनले प्रतिक्रिया दिँदै लेखे, “कुन पत्रकार राम्रो र कुन नराम्रो भन्ने निर्णय भीडलाई गर्न दिन सकिँदैन। वरिष्ठ होस् वा कनिष्ठ, प्रत्येक पत्रकारले आफ्नो काम गर्दा पूर्ण रूपमा सुरक्षित महसुस गर्नुपर्छ। एउटा समूहका लागि राम्रो पत्रकार अर्को समूहका लागि खलनायक हुन सक्छ।”

उनले थप लेखे, “यस्तो प्रवृत्तिको सुरुवात अन्ना आन्दोलनका बेला भएको थियो। त्यतिबेला पनि केही पक्षधरहरूले यसको समर्थन गरेका थिए। त्यो बेला पनि गलत थियो, अहिले पनि गलत नै हो।”

यता अल्ट न्यूजका सह–संस्थापक तथा सम्पादक प्रतीक सिन्हा भने विजेता सिंहको तर्कसँग सहमत देखिएनन्।

उनले लेखे, “मेहनती हुनु र आलोचनाबाट मुक्त हुनुबीच के सम्बन्ध छ? यदि म कुनै नाजी पार्टीको प्रचार संयन्त्रमा काम गर्छु र निकै मेहनत गर्छु भने, निर्णय मैले नगरेको भन्दै आलोचनाबाट मुक्त हुन सक्छु? एउटा प्रहरी जवान पनि निकै मेहनत गर्छ। तर उसले लाठी प्रहार गर्दा के उसलाई जवाफदेही बनाउनु पर्दैन?”

सिन्हाले थप लेखेका छन्, “युवा पत्रकारका लागि रोजगारी पाउन सजिलो छैन भन्ने सत्य हो। तर धेरै युवा पत्रकारहरू मुख्यधारको विषाक्त मिडियामा काम नगर्ने निर्णय पनि गरिरहेका छन्। जो कोही पनि कुनै निरंकुश सरकारको विस्तारका रूपमा काम गर्ने निर्णय गर्छ, उसले त्यसको परिणामको सामना गर्न तयार हुनुपर्छ।”

वरिष्ठ पत्रकार अभिसार शर्मा पनि शेखर गुप्ताको तर्कसँग सहमत देखिएनन्।

उनले लेखे, “अन्ना आन्दोलनका बेला पनि केही निश्चित पत्रकारहरू मात्र निशानामा परेका थिए। कुनै पनि प्रकारको हिंसाको समर्थन गर्न सकिँदैन – न फिल्ड रिपोर्टरमाथि, न एङ्करमाथि।”

तर उनले शेखर गुप्तालाई प्रश्न गर्दै भने, “स्वतन्त्र पत्रकार र सञ्चार संस्थामाथि वर्तमान सरकारले गरेको भनिएको अन्यायप्रति तपाईंको आलोचना किन यति कमजोर देखिन्छ? पत्रकारहरू साँच्चिकै निशाना बनाइएका घटनामा तपाईंको आक्रोश किन देखिँदैन?”

अन्य पत्रकारहरूको प्रतिक्रिया

न्यूजलन्ड्रीका सह-संस्थापक अभिनन्दन सिक्रीले पनि शेखर गुप्ताको भनाइको आलोचना गर्दै एक्समा लेखे, “तपाईंको तर्क धेरै तहमा त्रुटिपूर्ण छ। यो विषय ट्विटरमा समेटेर स्पष्ट पार्न सम्भव छैन। यदि तपाईं तयार हुनुहुन्छ भने यसबारे विस्तृत छलफल गर्न चाहन्छु।”

उनले अर्को पोस्टमा थपे, “जन्तर-मन्तरको आन्दोलनलाई बदनाम गर्न पुगेका तथाकथित मुख्यधारका मिडियालाई नजिकबाट हेर्नुहोस्। पत्रकारिताको नाममा त्यहाँ केही गैर-पत्रकारितिक चरित्रका मानिसहरू पनि देखिन्छन्।”

यता आज तककी राजनीतिक सम्पादक मौसमी सिंहले भने शेखर गुप्ताको समर्थन गर्दै लेखिन्, “म पूर्ण रूपमा सहमत छु। सबरीमला आन्दोलन र किसान आन्दोलनका बेला मैले धम्की, दुर्व्यवहार र कुटपिटसमेत सामना गर्नुपरेको थियो।”

उनले थपिन्, “एक महिला रिपोर्टरलाई आन्दोलनको रिपोर्टिङका क्रममा पुलमुनि तानेर दुर्व्यवहार गरिएको थियो। उनी नयाँ पत्रकार थिइन् र त्यस घटनाले निकै त्रसित भएकी थिइन्। पत्रकारमाथिको कुनै पनि प्रकारको हिंसा-शारीरिक होस् वा मौखिक-कुनै हालतमा स्वीकार्य हुन सक्दैन।”

मिडियाको भूमिकामाथि प्रश्न

प्रख्यात स्तम्भकार तथा लेखिका तवलीन सिंहले लेखेकी छन्, “करिब ५० वर्ष भारतीय मिडियामा काम गरेको अनुभवका आधारमा भन्नुपर्दा, आजका तथाकथित स्वतन्त्र टेलिभिजन च्यानलहरू देखेर मलाई लाज लाग्छ। उनीहरूले आफूलाई ‘दूरदर्शन २.०’ घोषणा गरे हुन्छ, स्वतन्त्र भएको दाबी गर्नु आवश्यक छैन।”

यस्तै, सर्ट पोस्टका संस्थापक सम्पादक एबी रविले गत जुन २८ मा अंग्रेजी पत्रिका ओपन मा प्रकाशित लेखमा भारतीय पत्रकारिताको बदलिँदो स्वरूपबारे चर्चा गरेका थिए।

उनले लेखेका छन्, “आजको तीव्र प्रतिस्पर्धा, चर्को टेलिभिजन बहस र सामाजिक सञ्जालको विषाक्त वातावरणले पत्रकारिताको चरित्र परिवर्तन गरेको छ। यसको एउटा कारण प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकारहरूको मन्त्रालयमा हुने अनौपचारिक पहुँच सीमित गर्नु र विदेश भ्रमणमा पत्रकारलाई साथ लैजाने परम्परा अन्त्य गर्नु पनि हो।”

उनका अनुसार, “आज पत्रकारिता जीवनभरको पेशाभन्दा पनि राजनीति वा जनसम्पर्क (पीआर) मा प्रवेश गर्ने माध्यम बन्दै गएको छ।”

बीबीसी हिन्दीबाट साभार

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ५६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान