काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले साउन महिनाभित्रै स्वदेश फर्कने घोषणा गरेका छन्। स्वास्थ्य उपचारका लागि हाल हङकङमा रहेका देउवाले बीपी कोइरालाको स्मृति दिवसको पूर्वसन्ध्यामा जारी गरेको सन्देशमार्फत आफू चाँडै नेपाली भूमिमा फर्किन लागेको जानकारी दिएका हुन्।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा मंगलबार जारी गरेको सन्देशमा देउवाले उपचारका कारण केही समय विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गरेका छन्।
उनले नेपालमा पछिल्ला समय विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग तथा राजनीतिक पूर्वाग्रहमाथि आधारित दमन लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।
देउवाले वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाउँदै भौतिक तथा मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्। साथै, स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको तथा न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणको औजार बनाउन खोजिएको आरोप पनि उनले लगाएका छन्।
सन्देशमा उनले आफू छिट्टै नेपाली भूमिमा फर्किने उल्लेख गर्दै भनेका छन्, “म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु।”
देउवाले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपालीलाई आह्वान गरेका छन्। लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसमाथि लोकतन्त्र, संविधान, राष्ट्रियता तथा जनताको सुरक्षाको अनुभूति जोगाउने ऐतिहासिक जिम्मेवारी थपिएको बताएका छन्।
बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै देउवाले अहिले देशलाई विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र प्रतिशोधभन्दा सहकार्य आवश्यक रहेको बताएका छन्। नयाँ पुस्ताको ऊर्जा, ज्ञान र प्रविधिलाई लोकतान्त्रिक मूल्यसँग जोडेर साझा राष्ट्रिय अभियान अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
देउवाले आफूलाई बीपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्ने अवसर मिल्नु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै विगत छ दशकभन्दा लामो राजनीतिक यात्रामा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गरेको स्मरण गरेका छन्। लोकतन्त्र र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नबदलिएको उनको भनाइ छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएपछि उनी स्वास्थ्य उपचारका लागि पटक–पटक विदेश गइरहेका छन्।



















प्रतिक्रिया