१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिनेछ ।

सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ ।

बोलकबोलमा न्यूनतम रु १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एउटै सहभागीले फरकफरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अङ्कसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ । समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ ।

बैंकले निक्षेप सङ्कलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ । यसमा सङ्कलित रकम अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ । साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी (प्रि–म्याच्योर) सुविधा नहुने स्पष्ट गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ११ : ०२ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा