११ श्रावण २०८३, सोमबार | July 27, 2026

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन



इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच भएको विवाद उग्र बन्दै जाँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि सोमबार जिल्लाका विभिन्न स्थान तनावग्रस्त बनेका छन्। घटनाको विरोधमा प्रदर्शन, सडक अवरोध र कर्फ्यु उल्लङ्घनका घटना भएपछि सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो। मध्यरातिमा अत्यधिक होहल्ला भएको भन्दै अर्को पक्षले विरोध गरेपछि दुई समूहबीच भनाभन सुरु भई झडपमा परिणत भएको थियो।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको र त्यसपछि हवाई फायर गरेको जनाएको छ। त्यसबाट पनि अवस्था सामान्य नभएपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर अन्य ९ जना घाइते भएका छन्, जसको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। झडप तथा प्रहरी कारबाहीका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी आदेशअनुसार तोकिएका चार किल्लाभित्र आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न निषेध गरिएको छ। कर्फ्यु उल्लङ्घन गरेमा एक हजार रुपैयाँसम्म जरिवाना तथा एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी पनि प्रशासनले दिएको छ।

यद्यपि कर्फ्युका बीच सोमबार बिहानदेखि कप्तानगञ्ज, इनरुवा र लौकहीलगायत क्षेत्रमा प्रदर्शन भएका छन्। प्रदर्शनकारीहरूले इनरुवा बजार बन्द गराउँदै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका कारण सुनसरी खण्डमा राजमार्गको यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।

स्थिति थप जटिल बन्न नदिन कप्तानगञ्ज तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या परिचालन गरिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा कुनै पनि प्रकारका सभा–जुलुसमा सहभागी नहुन आग्रह गरेको छ।

यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार समितिलाई एक साताभित्र घटनाको यथार्थ विवरणसहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

घटनाको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्न सोमबार अपराह्न ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको गृह मन्त्रालयले जनाएको छ।

सुनसरीको संवेदनशील सीमावर्ती क्षेत्रमा भएको घटनाले स्थानीय सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको छ। प्रशासनले शान्ति, संयम र कानुनी प्रक्रियामा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेको छ भने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : ३२ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत