विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावलाई साम्य पार्दै शान्ति-सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ।
आइतबार रातिको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवामा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लाको अवस्था थप जटिल बन्न नदिन सबै पक्ष संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुने प्रतिबद्धता जनाएको हो।
बैठकमा सहभागी राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सामाजिक तथा धार्मिक अगुवा र अन्य सरोकारवालाले शान्ति–सुरक्षा कायम गर्न तथा सामाजिक सद्भावलाई थप बलियो बनाउन संयुक्त रूपमा पहल गर्ने निर्णय गरेका छन्।
बैठकले घटनाको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सहयोग गर्ने तथा निष्पक्ष अनुसन्धानका लागि सबै पक्षबाट सहकार्य गर्ने सहमति पनि गरेको छ।
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्णयसँगै स्थानीय जनप्रतिनिधि तथा सामाजिक–धार्मिक अगुवाहरूले समुदायबीच विश्वासको वातावरण निर्माण गर्न पहल सुरु गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
बैठकमा सहभागी नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र मेहताले घटनापछि उत्पन्न अवस्थालाई थप जटिल बन्न नदिन सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने सहमति भएको जानकारी दिए। उनका अनुसार स्थानीय तहमा शान्ति, आपसी विश्वास र सामाजिक सद्भाव कायम राख्न साझा प्रयास अघि बढाइनेछ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न पनि आग्रह गरेको छ।
आइतबार राति साउने सोमबारका अवसरमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ।



















प्रतिक्रिया