काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएकोमा आफ्नो धारणा सार्वजानिक गर्दै राजश्व विभागले असारमा खपत गरेको विद्युतमा मूल्य अभिवृद्धि कर नलाग्ने स्पष्ट पारेको हो ।
विभागका अनुसार आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गरी विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ ।
विभागको सूचनामा २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल २०८३ साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गतेअघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची(१ समूह २ अन्तर्गत आवश्यक वस्तुका रूपमा विद्युत् शक्ति समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने उल्लेख गरिएको छ ।
विभागले साउन १ गतेदेखिको बिजुली खपतमा न्यूनतम शुल्क वा डिमान्ड चार्जमा भने भ्याट लाग्ने जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो । त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्थाअनुसार साउन १ देखि लाग्ने भ्याट असारमा खपत भएको विद्युतमा लगाएको भन्दै प्राधिकरणको आलोचना भएको थियो । त्यसपछि प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो । त्यसैलाई स्पष्ट पार्न विभागले सोमबार विज्ञप्ति जारी गरेको हो ।
असारमा खपत गरेको विद्युतको भ्याट रकम भाद्रको बिलमा फिर्ता गरिने
प्राधिकरणले असारमा खपत गरेको बिजुली महसुलमा ग्राहकले तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम ग्राहकको अग्रिम भुक्तानीको रूपमा कायम गरी आगामी भदौ महिनामा जारी हुने बिलमा समायोजन गर्ने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो ।
प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनयता ग्राहकलाई पठाएको थियो । त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्थाअनुसार १ साउनदेखि लाग्ने भ्याट असारमै खपत गरेको विद्युतमा जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो । त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो । त्यसैलाई स्पष्ट पार्न विभागले सोमबार दिएको राय अनुसार प्राधिकरणले भ्याट रकम फिर्ता गर्ने भएको हो ।



















प्रतिक्रिया