१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल



काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र कानुनी शासन कायम गर्न सरकार तथा सबै पक्षलाई संयुक्त अपिल गरेका छन्।

पूर्वराजदूत, कूटनीतिज्ञ, पूर्वमन्त्री, मानवअधिकारकर्मी तथा बौद्धिक व्यक्तित्वहरूद्वारा जारी अपिलमा सुनसरीका ओमप्रकाश मेहता, गणेश मेहता र सिरहाका गणेश यादवको हिंसात्मक घटनामा मृत्यु भएकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउने सरकारको प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

अपिलमा नेपाल धार्मिक, जातीय, भाषिक, भौगोलिक तथा सांस्कृतिक विविधताबीचको सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलापका कारण विश्वमै विशिष्ट पहिचान बनाएको देश भएको उल्लेख गर्दै पछिल्ला घटनाले यही सामाजिक एकतामा गम्भीर चुनौती सिर्जना गरेको जनाइएको छ।

नागरिक अगुवाहरूले भ्रामक सूचना, उत्तेजक प्रचारप्रसार र धार्मिक आस्थामाथि चोट पुर्‍याउने गतिविधिले हिंसा र अराजकता बढाएको उल्लेख गर्दै राजनीतिक द्वन्द्वका घाउ नपुरिँदै नेपाल फेरि धार्मिक तनावको चपेटामा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले हिंसा प्रभावित तथा सम्भावित जोखिम रहेका प्रदेश र स्थानीय तहमा सर्वपक्षीय बैठक आयोजना गरी शान्ति र सद्भाव कायम गर्न संघीय सरकारले थालेको पहललाई थप विस्तार गर्न आग्रह गरेका छन्।

त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको छ।

अपिलमा धर्मनिरपेक्षताको मर्म भनेको सबै धर्मप्रति सम्मान र सहिष्णुतासहितको सहअस्तित्व भएको उल्लेख गर्दै धार्मिक आस्थामा चोट पुर्‍याउने वा सामाजिक सद्भाव भड्काउने गतिविधिमाथि सरकारले कडाइका साथ नियन्त्रण गर्नुपर्ने धारणा राखिएको छ।

सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने, कानुन हातमा लिने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा सरकारबाट नियमित, तथ्यमा आधारित सूचना प्रवाह गरी भ्रामक सूचना नियन्त्रण गर्न पनि अपिलमा जोड दिइएको छ। साथै नागरिकको जिउधनको सुरक्षाका लागि स्थानीय तहमा प्रभावकारी र्‍यापिड रेस्पोन्स मेकानिजम स्थापना गरी परिचालन गर्न सरकारलाई सुझाव दिइएको छ।

उनीहरुले नेपालमा हजारौँ वर्षदेखि कायम रहेको सामाजिक, धार्मिक, जातीय, भाषिक तथा साम्प्रदायिक सद्भाव, सहिष्णुता र भ्रातृत्व जोगाउन हिंसा र द्वन्द्व बढाउने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक समाज, बौद्धिक समुदाय र आम नागरिकलाई आह्वान गरेका छन्।

उक्त अपिलमा निलाम्बर आचार्य, सूर्यप्रसाद श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, महेन्द्रबहादुर पाण्डे, पिताम्बर शर्मा, सुशील प्याकुरेल, चैतन्य मिश्र, दुर्गेशमान सिंह, टंक कार्की, महेशकुमार मास्के, लीलामणि पौड्याल र विष्णुपुकार श्रेष्ठलगायत नागरिक अगुवाहरूले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ३ : २१ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई