काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियत र इमानदारीमाथि कुनै शंका नभए पनि राज्य सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन्।
उनले लोकतन्त्रको संरक्षण, संविधानको प्रभावकारी कार्यान्वयन र सुशासनका लागि सरकारले राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूल मन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य सकारात्मक भए पनि कार्यान्वयनको ढंग प्रभावकारी हुन नसकेको टिप्पणी गरे।
‘अहिलेको अवस्थामा सरकारको इन्टिग्रिटीमा कुनै प्रश्न छैन, नियतमाथि पनि शंका छैन। तर कताकता राज्य सञ्चालनको ढंग नपुगेको हो कि भन्ने लाग्छ, र त्यो स्वीकार गर्नुपर्छ,’ उनले भने।
नेता झाले आफूलाई सबै कुरा थाहा छ भन्ने मानसिकताले नेतृत्वलाई गलत दिशातर्फ लैजान सक्ने चेतावनी दिँदै सिक्ने संस्कारको विकास गर्न आग्रह गरे।
‘यदि तपाईंलाई आफूलाई के थाहा छैन भन्ने नै थाहा छैन भने वास्तवमा तपाईंलाई धेरै कुरा थाहा छैन। त्यसैले आफूलाई नथाहा भएका विषय स्वीकारेर सिक्नुपर्छ,’ उनले भने।
उनले गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भनाइ उद्धृत गर्दै ‘जुन दिन तपाईंलाई सबै कुरा सिकिसकेँ भन्ने लाग्छ, त्यो दिन तपाईं विकासको यात्रामा रोकिनुहुन्छ’ भन्दै नेतृत्वमा निरन्तर सिकाइको संस्कार आवश्यक रहेको बताए।
झाले लोकतान्त्रिक व्यवस्थाको सफलताका लागि समाज शिक्षित हुनु अपरिहार्य रहेको उल्लेख गरे। उनका अनुसार राजनीति बलियो नभए लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुँदा सामाजिक सन्तुलन खलबलिन्छ र अन्ततः सामाजिक न्याय तथा विकास दुवै प्रभावित हुन्छ।
मधेशमा देखिएको पछिल्लो आन्दोलनतर्फ संकेत गर्दै उनले सरकारले समस्या तत्काल समाधान भएको ठान्न नहुने चेतावनी दिए।
‘मधेशमा आगो निभेको हो, दाउरा निभेको छैन। त्यसैले सरकारले अझै संवेदनशील भएर काम गर्नुपर्छ,’ उनले भने।
सीमावर्ती क्षेत्रमा सामान्य सामान बोकेर आउने सर्वसाधारणमाथि कडाइ गरिने तर विमानस्थलबाट महँगा सामान सहजै भित्रिने अवस्थाले राज्यको व्यवहार असन्तुलित भएको उनको टिप्पणी थियो।
‘मधेशको सीमामा २५ रुपैयाँको चिप्स खोसिन्छ, तर एयरपोर्टबाट ब्लु लेबल र ल्यापटप ल्याउन दिइन्छ। गरिबका लागि एउटा नियम र धनीका लागि अर्को नियम किन ?’ उनले प्रश्न गरे।
सांसद झाले निर्वाचित जनप्रतिनिधिहरू जनतासँग अझ नजिकिनुपर्ने आवश्यकता औँल्याउँदै ‘हामीले गाडीको कालो सिसा हटायौँ, अब कालो चस्मा पनि हटाउनुपर्छ’ भन्दै नेतृत्वले जनताको वास्तविक अवस्था बुझ्नुपर्ने बताए।
नेपालको समृद्धिमा मधेश, प्रवासी नेपाली र निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले अहिले तीनै क्षेत्र असुरक्षित महसुस गरिरहेको दाबी गरे। विशेषगरी निजी क्षेत्र सरकारको व्यवहारबाट त्रसित रहेको उनको भनाइ थियो।
‘प्रहरी देख्दा नागरिकले सुरक्षित महसुस गर्नुपर्ने हो। तर आज निजी क्षेत्रका व्यवसायीहरू कुन बेला छापा पर्ला, कुन बेला धरपकड होला भनेर डराइरहेका छन्,’ उनले भने।
निजी क्षेत्रलाई आत्मविश्वास दिलाएर लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै उनले अर्थ मन्त्रालयले केही प्रयास गरे पनि त्यसको प्रभाव व्यवहारमा देखिन नसकेको टिप्पणी गरे।
‘निजी क्षेत्रलाई भएको पैसा लगानी गर्ने वातावरण दिनुस्। नीति कागजमा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ,’ उनले भने।


















प्रतिक्रिया