विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री कार्कीले बुधबार दिउँसो बोलाएको मन्त्रिपरिषद् बैठक सकिएलगत्तै कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी अघि बढेसँगै कांग्रेस सरकारबाट बाहिरिएको हो।
कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए।
कांग्रेस र एमालेबीच भएको सहमतिका आधारमा कोशी प्रदेशमा सत्ता सहकार्य अघि बढेको थियो। त्यसअनुसार कांग्रेस २०८१ भदौमा प्रदेश सरकारमा सहभागी भएको थियो। पछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट थप मन्त्रीहरू सरकारमा सहभागी भएका थिए।
तर पछिल्लो राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै एमाले र नेकपाबीच प्रदेश सरकारहरू मिलेर सञ्चालन गर्ने सहमति भएपछि एमाले–कांग्रेस सहकार्य टुटेको हो।
कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै अब कोशी प्रदेश सरकारमा नेकपाको प्रवेश हुने भएको छ। एमाले र नेकपाले नयाँ सत्ता समीकरणअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।
नयाँ गठबन्धनअनुसार सरकारको संरचना, मन्त्रालय बाँडफाँट र मन्त्रीहरूको जिम्मेवारीबारे भने दलहरूबीच छलफल जारी रहेको बताइएको छ।


















प्रतिक्रिया