३० श्रावण २०८३, शनिबार | August 15, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित



चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।

अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ । दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । केसीले पर्षात्मा डेङ्गुको सङ्क्रमण बढ्न सक्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताए । जिल्लाका स्थानीय तहसँगको समन्वयमा अभियान थालिएको हो ।

इच्छाकामना गाउँपालिकाबाट अभियान सुरु गरिएको जानकारी दिँदै उनले अन्य पालिकामा पनि अभियानसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधिलगायतको टोली अभियानमा सहभागी भएका छन् । उनीहरूले डेङ्गुबारे सचेतना फैलाउने तथा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने काममा जुटेको उनले बताए ।

यो समय डेङ्गुको मुख्य सिजन भएकाले सङ्क्रमणबाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन केसीले आग्रह गरे । घरआँगन तथा वरपरका झाडी, टायर, गमलालगायत पानी जम्न सक्ने स्थानमा नियमित निगरानी गरी सफा राख्नुपर्ने उनको भनाइ छ ।

स्क्रब टाइफस पनि यही समयमा बढी सक्रिय हुने भएकाले घरवरपर झाडी नराख्ने, सरसफाइ गर्ने तथा घाँस काट्न, खेतबारी वा जङ्गलमा जाँदा सावधानी अपनाउन उनले सुझाव दिए । झाडी तथा घाँस काट्न जाँदा शरीर ढाक्ने कपडा लगाउने र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए ।

वर्षायामसँगै डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्ने भएकाले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन उहाँले आग्रह गर्नुभयो ।

यस्तो छ विवरण

गत आर्थिक वर्ष २०८२/८३ मा भने चितवनमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित उल्लेख्य सङ्ख्यामा भेटिएका थिए । कार्यालयको तथ्याङ्कअनुसार आवको अन्त्यसम्म चितवनका २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो । अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेङ्गुका २७४ र स्क्रब टाइफसका ८९३ सङ्क्रमित अभिलेखमा रहेका थिए ।

स्थानीय तहअनुसार गत आवमा सबैभन्दा बढी सङ्क्रमित रत्ननगर नगरपालिकामा ८७, भरतपुर महानगरपालिकामा ५६ र खैरहनी नगरपालिकामा ३५ जना रहेका थिए । स्क्रब टाइफसका सङ्क्रमित पनि रत्ननगर नगरपालिकामा सबैभन्दा बढी २४६, खैरहनी नगरपालिकामा ११७ र भरतपुर महानगरपालिकामा ९० जना रहेका थिए ।

गत आवमा डेङ्गु १० हजार ५२३ जना र स्क्रब टाइफसको ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो । उक्त अवधिमा पनि डेङ्गु र स्क्रब टाइफसका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ३५ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।