काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।
काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ ।
इलाम नगरपालिका-९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट-डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका-४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रोल्पाको थबाङ गाउँपालिका-२ लाप्लेभिर र दबाङमा पनि भू्स्खलनका कारण ले घोराही-थबाङ सहिद मार्ग पनि दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।


















प्रतिक्रिया