काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी अझै दुईजना बेपत्ता छन्।
शनिबार साँझ करिब ५ः३० बजे खसेको पहिरोमा परी सातजना घाइते भएका छन्। घाइते हुनेमा रिसाङका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की छन्।
घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पहिरोमा परी भेरी नगरपालिका–२, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक बेपत्ता भएका छन्। पहिरोपछि घरबाट बाहिर निस्किएका विक त्यसयता सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
पहिरोले सोही क्षेत्रका आठवटा घरमा क्षति पुर्याएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


















प्रतिक्रिया