काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताउँदै कम्युनिष्ट तथा परिवर्तनकारी शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य भएको बताएका छन्।
काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता र लामो संघर्ष तथा बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिमाथि गम्भीर चुनौती देखापरेको दाबी गरे।
उनले वैदेशिक तथा प्रतिक्रियावादी शक्तिहरूको दबाब र हस्तक्षेप बढ्दै गएको उल्लेख गर्दै शान्ति, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए।
‘आज देशको परिस्थिति निकै जटिल मोडमा छ, राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ,’ प्रचण्डले भने, ‘यो परिस्थितिमा विचार मिल्ने दलहरूबीच पार्टी एकता, तत्कालीन मुद्दाहरूमा सहकार्य र विगतमा शान्ति, संविधान एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’
प्रचण्डले कम्युनिष्ट आन्दोलन कमजोर हुनुमा आफ्नै राजनीतिक कार्यशैली र रणनीतिक विचलनसमेत जिम्मेवार रहेको स्वीकार गरे। उनले आफ्नो वर्गीय आधार, मूल विचार र दीर्घकालीन रणनीतिलाई बेवास्ता गर्दै सत्ता समीकरण निर्माण र विघटनलाई राजनीतिको केन्द्र बनाउनु गम्भीर त्रुटि भएको बताए।
‘हामी बढी कार्यनीतिमा अल्झियौँ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ उनले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो।’
रणनीतिक लक्ष्य हासिल गर्न त्यसअनुकूल कार्यनीति निर्माण गरेर अघि बढ्दा जनयुद्ध सफल भएको उल्लेख गर्दै उनले पछिल्लो समय भने रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा कम्युनिष्ट आन्दोलन ‘चक्करमा फसेको’ बताए।
प्रचण्डले कम्युनिष्ट पार्टीको जनतासँगको सम्बन्ध कमजोर हुनु पनि पछिल्लो राजनीतिक संकटको प्रमुख कारण भएको बताए। किताबमा विचार लेख्ने र भाषणमा सिद्धान्त प्रस्तुत गर्ने क्रम रहे पनि व्यवहारमा जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको उनको भनाइ थियो।
‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटि भयो,’ उनले भने।
बरु कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न खोज्ने शक्तिहरूले दीर्घकालीन रणनीति बनाएर काम गरेको प्रचण्डको दाबी छ। उनका अनुसार त्यस्ता शक्तिहरूको ध्यान नेपालबाट कम्युनिष्ट शक्तिलाई कमजोर वा समाप्त पार्ने रणनीतिमा केन्द्रित रह्यो।
प्रचण्डले अब विगतका कमजोरीबाट पाठ सिक्दै राजनीतिक उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र मुलुकलाई सही दिशामा अघि बढाउन परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए।
उनले विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालीन राजनीतिक मुद्दामा सहकार्य तथा व्यापक साझा मोर्चामार्फत कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार वर्तमान चुनौतीको सामना गर्न केवल सत्ता केन्द्रित राजनीति नभई स्पष्ट वैचारिक आधार, दीर्घकालीन रणनीति र जनतासँगको बलियो सम्बन्ध आवश्यक छ।

















प्रतिक्रिया