९ भदौ २०८३, मंगलबार | August 25, 2026

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो



काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सरकारले रु १० अर्ब ७० करोड २५ लाख पुँजीगत लाभकर प्राप्त गरेको छ । जबकि आव २०८१/८२ मा सरकारले रु १८ अर्ब १७ करोड पुँजीगत लाभकर प्राप्त गरेको थियो ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले सेयर बजारका लगानीकर्ताको मनोबल खस्किएकाले सेयर कारोबार घट्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा समेत प्रत्यक्ष प्रभाव परेको बताए।

“निजी क्षेत्रका लगानीकर्तामा विश्वासको वातावरण नभएकाले पनि सेयर बजारमा अपेक्षाकृत रूपमा लगानी गर्न सकिरहेका छैनन् । जसका कारण पुँजीगत लाभकरमा पनि असर परेको छ”, उनले भने, “सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर अल्पकालीन १० प्रतिशत र दीर्घकालीन ७ दशमलव ५ प्रतिशत कायम गरेकाले पनि सेयर लगानीकर्ता लगानी गर्न डराइरहेको अवस्था छ ।”

यसअघि यस्तो कर अल्पकालीन ७ दशमलव ५ प्रतिशत र दीर्घकालीन ५ प्रतिशत रहेको थियो । सेयरको पुँजीगत लाभकरमा मात्र नभई पछिल्लो समय सेयर बजारमा आएको उतारचढावका कारण धितोपत्र बजारको पुँजीकरणमा समेत घटबढ देखिएको छ ।

विसं २०८२ असोज मसान्तमा नेप्से परिसूचक दुई हजार ४८७ दशमलव १८ विन्दुमा पुग्दा धितोपत्र बजार पुँजीकरण रु ४१ खर्ब ५७ अर्ब ९० करोड पुगेको थियो । त्यस्तै, २०८२ चैत मसान्तसम्म नेप्से परिसूचक दुई हजार ८३३ दशमलव ६० विन्दुमा पुग्दा धितोपत्र बजार पुँजीकरण रु ४८ खर्ब ३२ अर्ब कायम भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २०८३ भदौ ९ गते अर्थात् आज नेप्से परिसूचक दुई हजार ५९४ दशमलव २७ विन्दुमा पुग्दा धितोपत्र बजारको पुँजीकरण रु ४४ खर्ब ६२ अर्ब कायम भएको छ ।

सामान्यतया बजार पुँजीकरण धितोपत्र बजारमा सूचीकृत सेयरहरूको मूल्य र सङ्ख्यालाई गुणा गरेर निकाल्ने गरिन्छ । नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरी पराजुलीले सेयरको दोस्रो बजारमा हुने उतारचढावलाई सामान्य रूपमा हेर्नुपर्ने बताए । उनले भने, “यो सामान्य प्रक्रिया नै हो ।”

सूचना अधिकारी पराजुलीले धितोपत्र बजारको पुँजीकरण पनि सेयरको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने सामान्य प्रक्रिया रहेको बताए । “गत चैतमा सेयरको मूल्य बढेको थियो । त्यसैले बजार पुँजीकरण बढेको देखियो”, उनले भने, “अहिले सेयरको मूल्य घटेको छ । त्यसैले बजार पुँजीकरण घटेको देखिएको हो ।”

नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरञ्जय घिमिरेले बोर्डले धितोपत्र बजारलाई व्यवस्थित गर्नेतर्फ काम गर्दै आइरहेको बताए । “हामीले धितोपत्र बजारलाई व्यवस्थित र मर्यादित गराउने गरी काम गरिरहेका छौँ”, उनले भने।

नेपाल धितोपत्र बोर्डका अनुसार ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ अनुसार नेप्से सूचकाङ्क २०७८ भदौमा ३१९९ दशमलव ०३ विन्दुमा पुगेको थियो । यो नै हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ८ : १७ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको