गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव यस अस्पतालमा राखिएको छ । नौ वटा मणिपाल शिक्षण अस्पतालमा छन् । शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्बिर हेर्न व्यवस्था मिलाइएको छ । बाढीमा बेपत्ता भएकाका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ । पहिचान हुन नसकेका शवको ‘डिनए’ परीक्षणका लागि नमुना काठमाडौं पठाइने उहाँको भनाइ छ । “शवको तस्बिर आफन्तलाई हेर्ने व्यवस्था मिलाएका छौँ”, आफन्तले पहिचान गरेपछि कानुनी प्रकृया पूरा गरेर शव बुझाउँछौँ”, प्रहरी उपरीक्षक कार्कीले भने, “शव हिलाम्मे भएकाले सफा गरेर मात्र परीक्षण गर्नुपर्ने अवस्था छ ।”
पहिचान हुन नसकी बेवारिसे बनेका शवलाई बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उनले बताए। प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले शव व्यवस्थापनका लागि पोखराका अन्य अस्पतालसँग पनि समन्वय भइरहेको बताए। “शव पहिचान तथा व्यवस्थापनका लागि काम सुरु भइसकेको छ”, प्रजिअ गुरुङले भने, “शवको सङ्ख्या धेरै भएकाले पहिचान गरी आफन्तलाई बुझाउन केही दिन लाग्न सक्छ ।”
त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको प्रजिअ गुरुङले बताए ।
















प्रतिक्रिया