१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् ।

कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका हुन । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन् ।

“म्याग्दीकै अन्नपूर्ण गाउँपालिका-५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भने, “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।”

याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताए । उनका अनुसार चौँरीपालनमा तीन जनाको रु ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बङ्गुरपालन गरेर बस्दै आएका छन । धनकुमारी बेनीमा होटल व्यवसाय र प्रदीप निर्माण व्यवसायी छन । उनीहरुले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिएका छन । बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँशीका फाँटमा चरनको सुविधा रहेको छ ।

समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ । चौँरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो ।

डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीगाईको पकेट क्षेत्र हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोपारा क्षेत्रमा विसं २०६० को दशकदेखि चौँरीपालन हुँदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको पशुपन्छी मन्त्रालयको तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ८ : २६ बजे

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट