काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विशेष प्रस्तावमार्फत सभामुख अर्यालले भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटलगायत धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नेछन् ।
प्रस्तावमा बाढीका कारण बेपत्ता तथा मृत्यु भएका स्वदेशी र विदेशी नागरिकप्रति दुःख व्यक्त गर्दै घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको छ । साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिनेछ ।
यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ ।
बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा रसुवामा आएको बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा छलफल हुनेछ ।
यस्तै, अपराह्न १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
















प्रतिक्रिया