१८ भदौ २०८३, बिहिबार | September 3, 2026

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’



भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।

गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको छ ।

समुद्री सतहबाट करिब दुई हजार ३०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिमशृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । धार्मिक आस्थाका कारण पूजाआजाका लागि यहाँ पर्यटक तथा भक्तजन पुग्ने गरेका छन् ।

भोजपुर-लेगुवा सडकखण्डबाट नजिकै रहेकाले पनि अरुण डाँडामा आवतजावत गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको पौवादुङमा-१, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए । पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गर्नाका साथै वृक्षरोपण गरिएपछि क्षेत्रको सुन्दरता बढेको उनको भनाइ छ ।

भोजपुर सदरमुकामबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले सहरी जीवनशैलीको व्यस्तताबाट थकित मानिस प्रकृतिको आनन्द लिन अरुण डाँडा पुग्ने गरेका छन् । घुमघामसँगै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गरेको पौवादुङमा-१ श्यामशिलाका स्थानीयवासी लालबहादुर तामाङले बताए ।

“अरुण डाँडा क्षेत्रको विकाससँगै यहाँ घुम्न तथा पूजाआजा गर्न आउने मानिसको सङ्ख्या बढेको छ,” उनले भने, “गाउँपालिकाले यहाँको विकासमा भूमिका खेलेसँगै अरुण डाँडा स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यसबाट स्थानीयको आयआर्जनमा समेत केही टेवा पुगेको छ ।”

धार्मिक तथा पर्यटकीय महत्व बोकेको अरुण डाँडाको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर नै विकास निर्माणका काम अघि बढाइएको उनले जानकारी दिए ।

“अरुण डाँडाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरेका छौँ,” अध्यक्ष राईले भने, “यस ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

अरुण डाँडाको थप प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले अघि बढाएको अध्यक्ष राईले बताए । प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सडक पहुँचका कारण आगामी दिनमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ७ : ०६ बजे

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार

रास्वपा सचिवालयको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौं